हिमाल दैनिक
काठमाडौंको टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय २५ पुगेको छ । टोखामा थप २९ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८ सय २५ पुगेको हो । टोखाको वडा नम्बर १ मा सबैभन्दा थोरै २१ र वडा नम्बर ३ मा सबैभन्दा धेरै ९५ जना कोरोना सङ्क्रमित भेटिएका छन् । वडा नम्बर २ मा ५१, वडा नम्बर ४ मा ४३, वडा नम्बर ५ मा ८६, वडा नम्बर ६ मा ९१, वडा नम्बर ७ मा ८०, वडा नम्बर ८ मा ९४, वडा नम्बर ९ मा ५५, वडा नम्बर १० मा ६६ र वडा नम्बर ११ मा ६२ जना सङ्क्रमित छन् । कोरोना सङ्क्रमितमध्ये ४ सय ४४ जना निको भएर घर फर्किसकेको, ३ सय ४ जना होम आइसोलेसन र ६९ सङ्क्रमितको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । संक्रमितमध्ये पाँचजना अहिलेसम्म सम्पर्कविहीन छन् । टोखामा हालसम्म कोरोना सङ्क्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ । वडा नम्बर ४, ६ र ९ मा एक÷एक जनाको मृत्यु भएको प्रवक्ता बस्यालले बताए । काठमाडौँ महानगरपालिकापछि सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएको नगरपालिका टोखा हो । टोखा नगरपालिकाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शय्याको आइसोलेसन सेन्टर स्थापना गरेर बिरामीको उपचार गराउँदै आएको छ । नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै उक्त आइसोलेसन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताए । नगरपालिकाभित्रका ११ वटै वडामा टोखाले पीसीआर परीक्षणको दायरालाई समेत बढाएको छ । टोखाले  प्रत्येक वडामा १ सय जनाका दरले परीक्षण गरेको छ । नगरपालिकाले यसअघि नै कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेका बिरामीलाई प्रतिदिन ३ सय ५० भत्ता दिने निर्णयसमेत गरिसकेको छ । नगरपालिकाले कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बसेका बिरामीलाई भेटेर हौसला प्रदान गर्दै आएको छ । नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल गोङ्गबुसँग सहकार्य गरेर बिरामीको उपचार गरिने बताए ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update