हिमाल दैनिक
कन्ट्याक्ट ट्रेसिङ असफल हुँदा संक्रमण दर उच्च
mildmod1
काठमाडौं उपत्यकामा एक महिनामै १७ हजारभन्दा बढी संक्रमित थपिएका छन् । उपत्यकामा संक्रमितको संख्या साढे २१ हजार नाघिसकेको छ । एकातिर जनघनत्व धेरै  र अर्कातिर संक्रमितसँग सम्पर्क हुनेको पहिचानमा सरकारी संयन्त्र असफल भएकाले उपत्यकामा महामारी वस्ती वस्तीमा फैलिएको हो । जनघनत्व धेरै रहेका विराटनगर, वीरगन्ज, भरतपुर लगायत स्थानमा पनि संक्रमण नरोकिनुको कारण त्यहि हो । भदौ ११ गतेसम्म काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ४३ सय ९८ थियो । काठमाडौंमा मात्र ३४ सय ५७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यतिखेर उपत्यकामा निषेधाज्ञा थियो । निषेधाज्ञा त्यसको दुई सातासम्म कायम रह्यो । तर संक्रमण भने घटेन । एक महिनाको अवधिमा उपत्यकामा १७ हजार १ सय ११ संक्रमित थपिएका छन् । उपत्यकामा अहिलेसम्म २१ हजार ५ सय ९ जनामा भाइरस देखिएकामा १७ हजार ४ सय ८१ जना काठमाडौंका हुन् । संक्रमण रोकथाममा सरकारका साथै स्थानीय तह असफल जस्तै देखिएका छन् । बरु वस्ती वस्तीमा संक्रमित थपिरहेका छन् । जनघनत्व धेरै भएकाले र संक्रमित व्यक्तिसँग सम्पर्क हुनेको पहिचालनमा सफल हुन नसकेकाले महामारी फैलिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । महामारी रोकथाममा चुनौती देखिएको काठमाडौंमा मात्र होइन । जनघनत्व धेरै रहेका विराटनगर, वीरगन्ज, भरतपुर लगायत स्थानमा पनि सकस परिरहेको छ । मोरङमा १ हजार ४२ र चितवनमा ६ सय ९३ सक्रिय संक्रमित छन् । भदौ १५ गते पर्सामा सक्रिय संक्रमितको संख्या १४ सय ५७  थियो । असोज ११ मा आइपुग्दा त्यहाँ सक्रिय संक्रमित १ सय ४४ जना मात्र छन् । २७ सय ३९ संक्रमितमध्ये ४५ जनाको मृत्यु भएको छ । संक्रमण रोकथामका लागि त्यहाँ लामो समय लकडाउन र निषेधाज्ञा गरियो । तर अहिलेको सक्रिय संक्रमितको संख्याकै आधारमा पर्सामा महामारी रोकथाम भयो भन्न मिल्ने अवस्था छैन । महामारी समुदायस्तरमा फैलिए पनि त्यहाँ अहिले लक्षण नभएकाहरुको परीक्षण नै गरिएको छैन । यस्तै संक्रमितसँग सम्पर्क हुनेको खोजी कार्यलाई पनि प्राथमिकता दिइएको छैन । मन्त्रालयले लक्षण नदेखिएकाहरुको परीक्षण नगर्ने निर्णय गरेकाले पनि संक्रमितसँग सम्पर्क हुनेको पहिचानको काम प्रभावित भएको हो । एकातिर लक्षण नदेखिएकाहरुको परीक्षण हुन छाडेको छ भने अर्कातिर आवागमन र भीडभाड बढेको छ । जसका कारण संक्रमण रोकथाम थप चुनौतीपूर्ण बनेको छ ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update