बाढीपहिरोले ट्रान्सफर्मर, मुख्य र वितरण लाइनको पोल तथा तार बगाउँदा म्याग्दीको पश्चिमी क्षेत्रमा दश दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ। मङ्गला गाउँपालिकाको अर्मनसहित मालिका र धौलागिरि गाउँपालिकामा वितरीत केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा अवरुद्ध भएको हो। विद्युत सुविधाको अभावमा सर्वसाधारणको दैनिकीदेखि गाउँपालिका, वडालगायत सरकारी, बैंक, सहकारी संस्थाको सेवा प्रवाह प्रभावित भएको छ।
राइसमिल, फर्निचर, नेपाली कागज, अल्लो, सिलाइकटाइलगायत विद्युत् आवश्यक पर्ने धेरै प्रकृतिका उद्योग व्यवसाय ठप्प भएको दरवाङका मोतिराज गौतमले बताए। विद्युत अभावमा नेपाल टेलिकम र एनसेलको मोबाइल फोन सेवासमेत प्रभावित भएको छ।
दिउँसो घाम लागेको समयमा मात्र मोबाइल फोन सेवा सञ्चालन हुँदा पहिरोबाट अति प्रभावित धौलागिरि र मालिका गाउँपालिकामा विपद् व्यवस्थापनमा कठिनाइ भएको छ। नेपाल विद्युत प्राधिकरणको बेनीस्थित वितरण केन्द्रका अनुसार गत असार २५ गतेको पहिरो र बाढीका कारण मुख्य र वितरण लाइनको संरचनामा क्षति पुगेकाले विद्युत आपूर्ति बन्द भएको हो।
मङ्गला गाउँपालिका–५ कुरसिम्लामा १०० केभी क्षमताको ट्रान्सफर्मर, दुई वटा मुख्य र तीन वटा शाखा लाइनको पोलसहित तार पहिरोले बगाएको छ। फापरखेतको पहिरोले बेनी–दरवाङ सडक अवरुद्ध भएका कारण ट्रान्सफर्मर, पोल र तार ढुवानीमा कठिनाइ हुँदा लाइन मर्मतमा ढिलाइ भएको नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख माधव महतले जानकारी दिए।
उनका अनुसार कुरसिम्लाको ट्रान्सफर्मर भएर विद्युत् प्रवाह हुने त्यस अगाडिका थप पाँच वटा ट्रान्सफर्मरअन्तर्गत वितरित विद्युत अवरुद्ध भएको छ। मालिका गाउँपालिकाको बिममा दुई वटासहित नौ वटा पोल पहिरोले बगाएको छ। देवीस्थान, धौलागिरि गाउँपालिकाको ताकम र मराङमा पहिरोले विद्युत लाइनमा पुर्याएको क्षतिको विवरण अझै आएको छैन।
बेगखोलाको बाढीले मुख्य लाइनको दुई वटा पोल बगाएपछि अवरुद्ध भएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा केन्द्रीय लाइनको विद्युत् सेवा बुधवार साँझदेखि पुनःसञ्चालन भएको छ। सबै ठाउँमा अवरुद्ध विद्युत आपूर्ति पुनःसञ्चालन गराउने प्राधिकरणका कर्मचारीलाई परिचालन गरिएको छ।
नियमित विद्युत् आपूर्ति नहुने र मर्मतमा ढिलाइ हुँदा सेवा प्रवाहका साथै उत्तरी म्याग्दीको उद्योग र होटल व्यवसायमा असर पुगेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए।
दुई सातादेखि सडक अवरुद्ध
लगातारको वर्षासँगै म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोका कारण अवरुद्ध सडक कतै मर्मत पछि पुनःसञ्चालन भएका छन्। कतै दुई सातादेखि अवरुद्ध छन्।
स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय बासिन्दाको पहलमा पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्ड पुनःसञ्चालन भएको छ। बेनी नगरपालिका–४, फाँपरखेत र मङ्गला गाउँपालिका–२ जोड्ने फाँपरखेतको पहिरो नेपाली सेना, प्रहरी र स्थानीयवासीले पन्छाएपछि पश्चिम म्याग्दीमा सिधा यातायात सञ्चालनमा आएको हो।
म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा गाउँपालिकाका साथै छिमेकी जिल्ला बागलुङको चार वटा गाउँलाई जोड्ने सडकखण्डमा पहिरोले अवरुद्ध भएपछि पैदलयात्रीलाई समेत आवतजावतमा सास्ती खेप्नुपरेको थियो। अवरुद्ध सडक पन्छाउन स्थानीयवासीसहित सेना, प्रहरीको टोलीले लगातार दुईदिनसम्म मर्मत गरी सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए।
उनका अनुसार फाँपरखेतको पहिरोमा १४ वटा ग्याविन जाली लगाइएको छ भने आवतजावतमा कम जोखिम हुने गरी मर्मत गरिएको छ। बेनीदेखि दरबाङसम्म हिलाम्मे सडक र बाढीले यात्रा निकै जोखिम हुने गरेको छ। २४ किलोमिटर दूरीको सडकमा यात्रा गर्दा सवारी साधन परिवर्तन गर्नुपर्ने बाध्यताले समेत यात्रुलाई सास्ती हुने गरेको थियो।
पश्चिमतर्फको सडक पुनःसञ्चालन गरिए पनि गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड गत १४ दिनदेखि अवरुद्ध हुँदा हिमालपारीको जिल्ला मुस्ताङ सडक सम्पर्कविच्छेद भएको छ। गत असार २५ गतेदेखि परेको अविरल वर्षका कारण दानको काभ्रेभिर, घोप्टेभिर, गुइँठेभिरलगायतका ठाउँमा पहिरोले सडक बगाएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो।
सडक खुलाउन सेना, बेनी–जोमसोम सडक आयोजना र सडक निर्माण कम्पनीले काम गरिरहेको भए पनि सडक खुलाएर यातायात सञ्चालनमा ल्याउन नसकेको मुस्ताङबाट ओभरसियर सचिन पौडेलले जानकारी दिए। लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी र कमजोर भू–बनावटका कारणमाथिबाट ढुङ्गामाटोसहितको लेदो पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो। सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको छ। अविरल वर्षाका कारण मुस्ताङ जोड्ने एकमात्र सडक अवरुद्ध भएपछि समस्या भएको छ।
सडक स्तरोन्नतिका लागि डोजर, स्काभेटर, ब्रेकर आदिको प्रयोग गरिएपछि वर्षाले हिलाम्ये हुँदा सानाठूला सवारी साधन हिलोमा नै घण्टौँसम्म फस्ने गरेका छन्। सडकखण्डमा सामान्य वर्षामा समेत हिलाम्ये हुँदा यात्रा कष्टकर बनेको दानाका पर्यटन व्यवसायी शेरचनले बताए। “सडकको धरापले यात्रुलाई सास्ती छ, तत्काल मर्मत गरे पनि पुनः खस्ने गरेको छ”, उनले भने। रासस
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय