लगातारको वर्षासँगै म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोका कारण अवरूद्ध सडक कतै मर्मतपछि पुनःसञ्चालन भएका छन्। कतै दुई सातादेखि अवरूद्ध छन्।
स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय बासिन्दाको पहलमा पश्चिम म्याग्दी जोड्ने बेनी-दरबाङ सडकखण्ड पुनःसञ्चालन भएको छ। बेनी नगरपालिका-४, फाँपरखेत र मङ्गला गाउँपालिका-२ जोड्ने फाँपरखेतको पहिरो नेपाली सेना, प्रहरी र स्थानीयवासीले पन्छाएपछि पश्चिम म्याग्दीमा सिधा यातायात सञ्चालनमा आएको हो।
म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा गाउँपालिकाका साथै छिमेकी जिल्ला बागलुङको चार वटा गाउँलाई जोड्ने सडकखण्डमा पहिरोले अवरूद्ध भएपछि पैदलयात्रीलाई समेत आवतजावतमा सास्ती खेप्नुपरेको थियो। अवरूद्ध सडक पन्छाउन स्थानीयवासीसहित सेना, प्रहरीको टोलीले लगातार दुईदिनसम्म मर्मत गरी सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए।
उनका अनुसार फाँपरखेतको पहिरोमा १४ वटा ग्याविन जाली लगाइएको छ भने आवतजावतमा कम जोखिम हुने गरी मर्मत गरिएको छ। बेनीदेखि दरबाङसम्म हिलाम्मे सडक र बाढीले यात्रा निकै जोखिम हुने गरेको छ। २४ किलोमिटर दूरीको सडकमा यात्रा गर्दा सवारी साधन परिवर्तन गर्नुपर्ने बाध्यताले समेत यात्रुलाई सास्ती हुने गरेको थियो।
पश्चिमतर्फको सडक पुनःसञ्चालन गरिए पनि गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी-जोमसोम-कोरला सडकखण्ड गत १४ दिनदेखि अवरूद्ध हुँदा हिमालपारीको जिल्ला मुस्ताङ सडक सम्पर्कविच्छेद भएको छ। गत असार २५ गतेदेखि परेको अविरल वर्षका कारण दानको काभ्रेभिर, घोप्टेभिर, गुइँठेभिरलगायतका ठाउँमा पहिरोले सडक बगाएपछि सडक पूर्णरूपमा अवरूद्ध भएको हो।
सडक खुलाउन सेना, बेनी-जोमसोम सडक आयोजना र सडक निर्माण कम्पनीले काम गरिरहेको भए पनि सडक खुलाएर यातायात सञ्चालनमा ल्याउन नसकेको मुस्ताङबाट ओभरसियर सचिन पौडेलले जानकारी दिए। लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी र कमजोर भू-बनावटका कारणमाथिबाट ढुङ्गामाटोसहितको लेदो पहिरो खस्दा सडक पूर्णरूपमा अवरूद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए। सडक अवरूद्ध भएपछि आवतजावत रोकिएको छ। अविरल वर्षाका कारण मुस्ताङ जोड्ने एकमात्र सडक अवरूद्ध भएपछि समस्या भएको छ।
सडक स्तरोन्नतिका लागि डोजर, स्काभेटर, ब्रेकर आदिको प्रयोग गरिएपछि वर्षाले हिलाम्ये हुँदा सानाठूला सवारी साधन हिलोमा नै घण्टौँसम्म फस्ने गरेका छन्। सडकखण्डमा सामान्य वर्षामा समेत हिलाम्ये हुँदा यात्रा कष्टकर बनेको दानाका पर्यटन व्यवसायी शेरचनले बताए। “सडकको धरापले यात्रूलाई सास्ती छ, तत्काल मर्मत गरे पनि पुनः खस्ने गरेको छ”, उनले भने।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय