हिमाल दैनिक
कतारमा मंगलबारदेखि मेट्रो रेलसहितका सार्वजनिक यातायात सञ्चालन हुने
Doha-Metro-service
दोहा – कोरोना भाइरसको महामारीले कतारमा लगाइएका प्रतिबन्ध क्रमिकरूपमा हटाइदै लगिएको छ । सेप्टेम्बर १ देखि तेस्रो चरणका प्रतिबन्ध हटाउने निर्णय गरिसकेको कतार सरकारले सोही दिन देखि मेट्रो रेलसहित सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेको छ । तर, सार्वजनिक यातायात सञ्चालन निशर्त भने हुने छैन । कतारको यातायात तथा सञ्चार मन्त्रालयका अनुसार सार्वजनिक यातायात सेवा ३० प्रतिसत यात्रु क्षमता राखेर सञ्चालनको अनुमति दिइएको छ । सार्वजनिक यातायात क्षेत्रका सम्पूर्ण कर्मचारीले कोरोना परीक्षण गर्नु पर्ने, सबै सावधानीका उपायहरू सुनिश्चित भए नभएको अनुगमन गर्न सुपरभाइजरहरू पनि परिचालन गर्न कतारको स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । यातायातको टिकट अनलाइन बुकिङ्ग गर्नुपर्ने छ भने स्टेशन भित्र र सार्वजनिक ट्रान्जिटमा खाने र पिउन प्रतिबन्ध लगाइएको छ । सामाजिक दूरी कायम गर्न पोस्टरहरू, फुटमार्क तथा भित्ता फ्लोर र सिटमा चेतनामुलुक संकेतहरू अनिवार्य राख्नुपर्ने भएको छ । मोबाइलमा एह्तराज एप अनिवार्य हुनुपर्ने तथा मास्क लगाइएका संक्रमणरहित यात्रुलाई मात्र यात्रा गर्न अनुमति दिइने मन्त्रालयले जनाएको छ । यसघि कतारको विपत्ती व्यवस्थापन समितिले चौथो चरण दुई भागमा विभाजन गर्ने निर्णय गरेको थियो । सो निर्णय अन्तर्गत पहिलो भाग सेप्टेम्बर १ देखि र अवस्था सामान्य बन्दै गए दोस्रो भाग सेप्टेम्बर महिनाको तेस्रो हप्ता देखि लागू गरिने जनाइएको छ । कतारमा अहिलेसम्म संक्रमितको संख्या १ लाख १८ हजार ४०७ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख १५ हजार २५१ जना पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाका कारण १९६ जनाले मृत्यु भएको छ । जस मध्ये कोरोना सङ्क्रमणबाट १८ जना नेपालीको पनि मृत्यु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने  दूतावाससंग पनि तथ्याङ्क छैन ।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update