सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा शनिबार राती गएको पहिरोबाट घरबारबिहिन भएका तीन परिवारलाई गाउँपालिकाले घर बनाउन प्रति परिवार ५ लाख रुपैयाँका दरले उपलब्ध गराउने भएको छ।
गाउँपालिकाको वडा नम्बर ६, थुम्पाखर धुसेनीमा गएराती पहिरोले तीन परिवारका चारवटा घर पूर्णरुपले बगाएको जानकारी पाएलगत्तै आइतबार बिहानै पहिरो गएको स्थानमा पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको पहलमा पीडित परिवारलाई राहत सहयोग उपलब्ध गराउने कार्य भएको हो।
घटनास्थलमा पुगेका बस्नेतका अनुसार, तीन परिवारका चार घर पहिरोले बगाएर बासस्थान बिहिन भएका पीडितका लागि तत्काल घर निर्माण गर्नका लागि कम्तिमा पाँच लाख चाहिने अनुमानसहित स्थानीय निकायका प्रतिनिधिसँगको छलफल पश्चात उक्त सहयोग रकमबारे निर्णय भएको हो।
उनको सुझाव अनुसार नै गाउँपालिका अध्यक्ष विनोदकुमार जिसी र वडा अध्यक्ष रामकुमार थापाले संयुक्त रुपमा पहिरो पीडितका लागि घर बनाउन तीन परिवारलाई पाँच लाखको दरले सहयोग उपलब्ध गराउने निर्णय भएको पनि बस्नेतले बताए।
‘बाढी र पहिरो पीडित परिवारको घर निर्माणका लागि राज्यका तर्फबाट अहिलेसम्म कुनै पनि निकायले पाँच लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय भएको छैन, जुन कांग्रेसको तर्फबाट निर्वाचित अध्यक्ष र वडाध्यक्षको तर्फबाट सुनकोशीमा भएको छ,’ उनले भने।
साथै उनले उक्त पहिरोका कारण हाल कम्तिमा ३० घर अति जोखिममा रहेको बताउँदै उनीहरुको सुरक्षित व्यवस्थापनका लागि गाउँपालिका र वडाको सहकार्यमा काम भइरहेको पनि बताए।
यसका अतिरिक्त आज बस्नेतले पहिरोबाट विस्तापित भएका दश घरपरिवारलाई प्रति परिवार दुई त्रिपाल, एक बोरा चामल, दाल, तेल लगाएको राहत समेत उपलब्ध गराएका थिए।
साउन २२ गते आफ्ना पिताको निधनपछि काजक्रियामा रहेको पाँच दिनपछि आफ्ना पितालाई पनि कोरोना संक्रमण भएको जानकारी पाएर थप तनाबमा परेका बस्नेतले सोहीबीचमा लिदीको पहिरो पीडितको राहत, सहयोगमा पनि कुनै कमि देखाएका थिएनन्।
लिदीमा पहिरोबाट अभिभावक गुमाएका ८ जना बालबालिकालाई छात्रावासमा राखेर उनीहरुको शिक्षादिक्षाको जिम्मा समेत बस्नेतले लिने घोषणा गरेका थिए।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय