बलेवा । बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ८ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण ३६ जना सम्पर्क विहिन भएका थिए ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीका अनुसार बाढीले ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ देखि ९ सम्ममा क्षति पुर्याएको छ। त्यहाँबाट अहिले सम्म आठ जनाको शव फेला परेको छ। फेला परेका शव ६ जना पुरूष र दुई जना महिलाका हुन्।
त्यस्तै बेपत्ता हुनेको संख्या ३६ पुगेको छ। बेपत्ता हुनेहरूमा पनि तीन जनाको पहिचान नभएको इन्स्पेक्टर भण्डारीले बताए।
उनीहरुमध्ये ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन् । त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया नै दिलमाया घर्तीमगर र उनको छोराका ६ वर्षीय बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।
पहिरोमा बेपत्ता भएकामध्ये ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३०/३२ वर्षको पुरुषको शव फेला परेको छ । ढोरपाटनकै वडा नं ५ बुडाथोकस्थित पुलको लठ्ठामा अड्केको अवस्थामा अन्दाजी ३०/३५ वर्षका पुरूषको शव भेटिएको उनले बताए। त्यस्तै बडिगार्ड गाउँपालिका–५ बालुवामा अन्दाजी २०र२२ वर्षका पुरूष र बडिगाड–७ खोप्चेमा अन्दाजी १२र१३ का पुरूषको शव फेला परेको भण्डारी बताए । शवको सनाखत हुन सकेको छैन । प्रहरी भखरै घटनास्थलमा पुगेको र बेपत्ताहरुको खोजी भईरहेकाले सङ्ख्या बढ्न सक्ने भण्डारीले बताउनुभयो । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थल पुग्दै छ । रासस
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय