हिमाल दैनिक
बुधबार राति भूजि खोलामा आएको अकल्पनीय बाढीले ढोरपाटनको आधा दर्जन गाउँ नै सखाप बनायो। धेरै वस्तीहरु बगरमा परिणत भए। धेरैको परिवार खोसियो, काख रित्तियो र धेरैलाई घरबार विहीन बनायो। रातको समयमा आएको बाढीमा परेर कोहीले निद्रामै देह त्याग गर्नुपर्‍यो। ढोरपाटन नगरपालिका–७, ८ र ९ का गाउँलाई उजाड बनाएको भूजीखोलाले सबैभन्दा बढी क्षति वडा नं ९ मा पुर्‍याएको छ। मुख्यगरी फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, घट्टेबोट, सेरावाङ, दुनापढेरा, सुकुरर्दुङ, सप्राङ र लाखुरीबोटमा बढी क्षति भएको जनाइएको छ। ढोरपाटन –९ देउरालीडाँडाबाट खसेको पहिरो भूजि खोलामा झर्दा बाढीमा परिणत भई बस्तीमा पसेको थियो। बाढीले बगाउँदा हाल सम्म १४ जनाको शव फेला परेको छ भने  अझै २४  वेपत्ता रहेका छन्। शवको सनाखत हुँन नसक्दा वेपत्ता मध्येका हुन् अथवा होईनन् भन्ने प्रहरीले एकीन गर्न सकेको छैन। बिहीबार बिहानैदेखि सुरक्षा निकाय तथा स्थानीय उद्धारमा जुटिरहेका छन्। भूजी खोला आसपासका बस्ती अधिकांश बगरमा परिणत भएको स्थानीय रुपाल घर्ती मगरले जानकारी दिए। ‘कल्पना भन्दा बाहिरको बाढी आयो, रातको समयमा पहिरोले खोला थुनिएपछि तलाउँ बनेर फुटेको हुन सक्ने हाम्रो अनुमान छ’ उनले भने ‘मेरो घर भन्दा माथीका अधिकांश बस्तीनै उजाडिएको छ।’ पहिरोका कारण ढोरपाटन –९ सुप्राङका सुस्मिाता बिक र मशेह बि.क.ले आफ्नो ८ जनाको परिवार गुमाउनुपरेको छ। उनीहरु अझै वेपत्ता रहेका छन्। यस्तै शेरू बि.क, हुमे बि.क, कृष्ण बि.कको परिवारका सदस्यहरु खोसिएका छन्। प्रहरीको तथ्याङ्क एकीन नहुँदा झनै समस्या भएको हो। भेटिएका शव आफ्नै परिवारको भन्ने अवस्था नरहेको कृष्ण परियारले बताए। ‘कोहीको टाउँको छैन, कोहीको हात खुट्टा छैन,’ उनले भने ‘बाढीले बस्तीसँगै सबैलाई रित्तो बनायो, आफ्नै परिवार पहिचान गर्न नसक्नेगरी शव फेला परेको छ।’ मस्त निद्रामा परेको गाउँ बिहान हुन नपाउँदै रित्तिएपछि सिंगो बागलुङ नै शोकमा डुबेको छ। घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना तथा शसस्त्र प्रहरीबल खटाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। ‘घटना निकै ठूलो भएका कारण उद्धार कार्यलाई निरन्तरता दिइनेछ, वेपत्ताको तथ्याङ्क एकीन नहुँदा उद्धारमा कठिनाई भएपनि निरन्तर सुरक्षा निकाए खटिएको छ।’ उनले भने ‘घटनास्थलमा पुग्ने सडक समेत अबरुद्ध भएका कारण थप कठिनाई भएको छ।’ केहीले बाढी आएको सूचनाका आधारमा भागेर ज्यान बचाउन सफल भएपनि बाढीले घर, गोठ, पशु चौपाया र ओढ्ने ओच्छाउने बगाएको छ।भेटिएका शव मध्ये सात जनाको मात्रै पहिचान भएको छ। ढोरपाटन  ९ बाट सुरु भएको बाढीले वडा नं ८ र ७ मा पनि ठूलो क्षति पुर्‍याएको छ। भुजीखोलामा उर्लिएर जमिन थर्कने गरी आएको चर्काे आवाजले विउ झिएका स्थानीयले तल्लो बस्तीमा फोन गरेपछि भौतिक रुपमा क्षति भए पनि खोलाको तल्लो भेगमा मानवीय क्षति कम भएको ढोरपाटन– ७ का वडा अध्यक्ष दीपक थापाले जानकारी दिए। त्यसैगरी बाढीमा ढोरपाटन –९ दुनेपोखरा बस्ने वर्ष १५ को महेन्द्र पुन गम्भीर घाइते भएका छन्। उनीको शरीर र टाउकोमा चोट लागेको छ। यस्तै सोही ठाउँकी २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन सामान्य घाइते भएका छन्।  घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भइरहेको ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपालीले जानकारी दिनुभयो। बाढीले ३१ घरमा पूर्ण र करिब ७० घरमा आशिंक क्षति पुर्‍याएको छ।
मृत्यु भएका १४ मध्ये १३ जनाको शव सनाखतपहिचान भएका वडा नं ९ घर भएकी २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीया रिमकुमारी घर्ति मगर, वडा नं। ९ कै २६ वर्षीया केशमाया बिक, ११ वर्षीय मदन बिक, २२ वर्षीय जीवन बिक र ११ वर्षीय डल्ले बिकको शव आवश्यक कानुनी प्रक्रिया पुर्‍याएर आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए। त्यसैगरी छ वर्षीय बिराज बिक, ६५ वर्षीया ज्योती पुन, २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीय प्रेम पुन, १३ वर्षीया पुनि बिक, ६५ वर्षीय डोटी पुन र ४६ वर्षीय करबहादुर बिकको पहिचान गरेर जिम्मा लगाइएको भण्डारीले बताए। घटनामा बेपत्ता भएका २४ जनाको खोजी कार्य जारी रहेको छ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update