काठमाडौं : कोरोना भाइरसको महामारीका कारण विधिवत रुपमा तान्न नसकिएको रातो मच्छिन्द्रनाथको रथ आज प्रतिकात्मक रुपमा तानिने भएको छ।
गत बिहीबार अनियन्त्रित भीडले अव्यवस्थित तरिकाले तान्न खोजेपछि प्रहरीसँग झडप भएर रोकिएको रथ तान्ने काम आज प्रतिकात्मक रुपमा गर्न लागिएको हो।
दिउँसो ४ बजे ललितपुरस्थित पुल्चोकमा रहेको रथलाई केही परसम्म मात्रै तान्ने तयारी गरिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए। महर्जनकाअनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर थोरै मानिसको सहभागितामा करिब ५० मिटर परसम्म मात्रै रथ तानिनेछ।
रथलाई सांकेतिक रुपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म तानेर लगेको मानेर ती क्षेत्रका बासिन्दाले आज छ्वयलाभू र भोलि भुज्या मनाउने भएका छन्।
शुक्रबार कफ्र्युका बीच क्षमा पूजा गरिएको मछिन्द्रनाथको रथ यात्रा यही २६ गते सक्ने तयारी गरिएको छ।
मच्छिन्द्रनाथको रथ तान्ने जात्रा नसकिएसम्म रथ राखिएको क्षेत्र आसपासमा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकैठाउँमा ५ जनाभन्दा बढी मनिस जम्मा हुन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले यस्तो आदेश जारी गरेको हो।
प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय