हिमाल दैनिक
बाह्रबिसेका १२ घरमा पूर्ण क्षति, ४ जनाको शव फेला, २६ बेपत्ता (अपडेट)
barabise-pahiro-1
काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोमा पुरिएर १२ वटा घर पुरिँदा २३ जना बेपत्ता भएका छन्। बाह्रविसे नगरपालिका- ७ घुम्थाङको नागपुजेमा पहिरोमा पुरिएका ४ जनाको शव फेला परेको छ।  उद्धारका लागि खटिएका नगरप्रमुख निमफुन्जो शेर्पाले ४ जनाको शव भेटिएको बताए । ‘४ जनाको शव भेटिएको छ । २६ जना बेपत्ता हुनुभएको छ । स्काभेटरको सहयोगले बेपत्ताको खोजी गरिरहेका छौँ,’ उनले भने । बाह्रबिसे वडा नम्बर ७ घुम्थाङको नागपुजेमा भीरखर्कबाट खसेको पहिरोले ९ घर पूर्ण क्षति हुँदा कम्तिमा १७ जना बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिए ।
‘म घटनास्थल जाँदैछु, भीरखर्कबाट खसेको पहिरोले नागपुजेका कम्तिमा ९ घर पुरिएको र १७ जना बेपत्ता भएको सूचना आएको छ, भीजुमखर्कमा ३ घर पुरिँदा ६ जना बेपत्ता भएका छन्,’ मेयर शेर्पाले भने, ‘अहिलेसम्म एक जनाको शव फेला परेको छ, जुमखर्कामा पनि पहिरो गएको त्यताको क्षतिबारे जानकारी आइसकेको छैन।’
स्थानीय शिक्षक बजीर भण्डारीलाई उद्धृत गर्दै सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले भने सामाजिक सञ्जालमा उल्लेख गरेको विवरणअनुसार नागपुजेमा ८ घर र भीरखर्कमा १० घर पुरिएका छन् ।
नागपुजेका सबै ८ घरका मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयबासीको भनाइ छ । अहिले पनि घटनास्थलमा ठूलो पानी परिरहेकाले उद्धारमा कठिनाई भएको मेयर शेर्पाले जानकारी दिए ।
यसैबिच सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोको बाह्रबिसेका पहिरो प्रभावित क्षेत्र प्रस्थान गरेका छन् । उनी ‍स्थलमार्गबाटै  त्यसतर्फ प्रस्थान गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन्।
यता सिन्धुपाल्चोकको गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा भने ६ घण्टादेखि ठूलो वर्षा भएकाले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।बलेफी जलवीरेमा जलसतह सतर्कता तहमा पुगेको र बढ्दो रहेको छ भने भोटेकोशी, ईन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले तटीय क्षेत्रमा १० बजे सम्म सतर्क रहन आग्रह गरिएको छ । बाह्रबिसे क्षेत्रमा भारी वर्षासँगैको पहिरोले जनधनको क्षतिसमेत भइसकेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update