हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकका जोखिमपूर्ण अवस्थामा रहेका वस्तीका नागरिकहरुलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। पूर्व प्रधानमन्त्री तथा विपक्षी दलका नेता देउवाले आइतबार एक विज्ञप्ति मार्फत सिन्धुपाल्चोकमा पछिल्लो समय पटक–पटक पहिरोले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भू–गर्भविद्हरुले औंल्याएका जोखिमका वस्तिहरुका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै यस्तो माग गरेका हुन्। गएराती सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ७ का तीन स्थान— नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा ७ जनाको मृत्यु र २४ जना वेपत्ता भएको घटना तथा बाग्लुङमा १ जनाको मत्यु भएको घटनाप्रति देउवाले गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति आफ्नो पार्टी आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गरेका छन्। प्राकृतिक विपतको यस घडीमा वेपत्ताहरुको तीव्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरु— खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधी र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न पनि उनले सरकारसँग माग गरेका छन्। साथै उनले उद्वार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका लागि पार्टीका सदस्यहरुलाई अपिल गर्दै पहिरोमा जीवन गुमाउनेहरुको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गरेका छन्।
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update