नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ औपचारिक रुपमा विदा भएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियले मंगलबार घिसिङलाई विदाई गरेको हो । विदाई कार्यक्रममा बोल्दै घिसिङले प्राधिकरण सामु आगामी दिनमा बिभिन्न चूनौती हुन सक्ने संकेत गरे ।
प्राधिकरणले हाँसिल गरेको उपलव्धीलाई संस्थागत गर्नु पहिलो चुनौति हुने बताउदै उनले उत्पादित विद्युतको सही व्यवस्थापन लगायतको चुनौति आउन सक्ने बताए । आफुले जिम्मेवारी सम्हालेको पहिलो आर्थिक वर्षदेखि लगातार प्रधिकरणले नाफा कमाईरहेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षमा प्राधिकरणको नाफा ११ अर्ब भन्दा धेरै हुने अनुमान गरिएको बताए ।
प्राधिकरणप्रति जनताको विश्वास बढेको बताउदै उनले लोडसेडिङ अन्त्य भई, चुहावट १५.२७ प्रतिशतमा झारेको, ४ वर्ष अघि ३५ प्रतिशत विद्युत भारतबाट आयात हुने गरेकोमा अब अर्को वर्षबाट आत्मनिर्भर हुने अवस्था सृजना भएको उल्लेख गरे । विद्युत आयात गरेर लोडसेडिङ अन्त्य गर्नुमात्र प्रमुख कारण नभएको बताउदै उनले त्यस विषयमा भारतसँग समेत प्राधिकरणले काम गरेको तर्क गरे । उनले विद्युत आयात र निर्यात गर्नु सजिलो काम नभएको बताउदै त्यसमा आफूहरुले धेरै मेहनत गरेको बताए ।
घिसिङले प्राधिकरणले उल्लेख्य फड्को मारेको र आफ्नो कार्यकालमा ४५७ मेगावाटका आयोजना संचालनमा आएको बताए । देशमा विद्युतलाई आत्मनिर्भर, काठमाडौंलाई तार र पोल रहित बनाउने, डिजिटल प्राधिकरण बनाउने, देशभर विद्युत पुर्याउने जस्ता काम आफूले पुरा गर्न नपाएको उनले बताए । उनलाई सरकारले २०७३ साल भदौ २९ गते ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय