हिमाल दैनिक
सम्झना कामीको हत्यारालाई कारबाहीको माग राजधानीमा महिला विभागको विरोध कार्यक्रम
women department
बझाङकी १२ वर्षीया सम्झना कामीको जबरजस्ती करणी पश्चात हत्या गर्नेलाई तत्काल कानून बमोजिम कडा कारवाहीको माग गर्दै आइतबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आइतबार माइतीघर मण्डलामा ‘सुतिरहेको सरकारलाई झकझकाउन सडक बहस’को आयोजना गर्यो। पार्टी सदस्य एवं विभागकी संयोजक ईश्वरी न्यौपानेको नेतृत्वमा विरोधका लागि विभिन्न नारा लेखिएका प्ले कार्ड र टाउकोमा कालो पट्टीसहित पुगका सहभागीहरुले देशमा बढ्दो दण्डहिनताको अन्त्यको माग गरे। नेपाली समाज महिलाका निम्ती असुरक्षित बन्दै गएको भन्दै सडक बहसमा सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी (डिना) उपाध्यायले एकातिर देशमा जनता कोरोना महामारीका कारण दिनदिनै भोक र रोगले मरिरहेका छन भने अर्कोतर्फ दिनहुँ बृद्धमहिलादेखि अवोध बालिकाहरु बलत्कारको शिकार हुनु परिरहेको कहालीलाग्दो अवस्था रहेको बताइन्। उनले नेपालको संविधानले प्रत्याभूति गरेका मौलिक हक, सामाजिक विभेदविरुद्धको प्रावधानहरुको सफल कार्यान्वयनमा राज्य उदास रहँदा त्यो संविधान कागजको खोस्टोमा परिणत हुँदै गएको बताइन्। साथै उनले सरकार सरकारको रुपमा क्रियाशील हुने भन्दा सुतेर बसिरहँदा सामाजिक अपराधका घटनाहरु बढिरहेको भन्दै चिन्ता व्यक्त गरिन्। सडक बहसमा सहभागी हुन पुगेकी नेकपा सांसद रामकुमारी झाँक्रीले प्रहरी प्रशासनको प्रभावकारीताको समिक्षा गर्न जरुरी रहेको बताइन्। उनले मुलुकका ग्रामीण क्षेत्रमा राज्यको उपस्थीति नदेखिएकाले महिला हिंसा सम्बन्धी घटना दोहरीएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। यसअघि संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका थिए। उनीहरुले पीडितलाई न्याय दिन र अपराधीलाई उन्मुक्ती नदिन सरकारसमक्ष माग राखेका थिए। उनीहरुले यस्ता घटनाहरु पटक पटक दोहरीएपनि कमजोर कानून भएका कारण दोषीहरुले उन्मुक्ति पाउने गरेको भन्दै कडा कानून नवनाएसम्म घटनाहरुमा कमी नआउने बताए। विरोधमा सहभागी कांग्रेस सांसद मीन विश्वकर्माले कानून कार्यान्वयनको फितलोपनाका कारण घटना बढिरहेको बताए। उनले राजीनितिक प्रभावमा नै हिंसा स्म्बन्धी कानूनलाई कमजोर बनाएको आरोप लगाए। प्रहरी प्रशासन व्यवसायीक धर्मबाट बिचलित भएका कारण अपराधीहरुले उन्मुक्ति पाउने गरेको पनि उनको जिकिर थियो। असोज ७ गते बुधबार साँझ गाईबस्तुलाई घाँस हाल्न गएकी बझाङको मस्टा गाउँपालिका २ की सम्झना विक मृत फेला परेकी थिइन्। उनको शव निर्वस्त्र अवस्थामा स्थानीय सिमदेवता मन्दिरमा भेटिएको थियो। उनको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ।
प्रकाशित मिति: शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update