हिमाल दैनिक
अबको एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना
weather
अबको एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना रहेकाे छ । मनसुन कमजोर अवस्थामा पुगेकाले कम पानी पर्न थालेको छ । यो वर्ष पनि दुई दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन अझै बाहिरिएको छैन । तर मनसुन कमजोर अवस्थामा पुगेकाले अबको एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पूर्वबाट प्रवेश गरेर मध्य हुँदै पश्चिमसम्म फैलिएर साढे तीन महिना सक्रिय हुने मनसुन पश्चिमबाट मध्य हुँदै पूर्वबाट नै बाहिरिने महाशाखाका मौसमविद्ले बताएका छन् । तर सामान्यतया जुन १० तारिखमा नेपाल भित्रिएको मनसुन सेप्टेम्बर २३ मा नेपालबाट बाहिरिनुपर्ने भए पनि केही वर्ष यता ढिला भित्रिएर ढिला नै बाहिरिन थालेको छ । मनसुन सकिएपछि बिस्तारै पश्चिमी वायु सक्रिय हुन्छ । पश्चिमी वायुले चिसो ल्याउने भएकाले मनसुन सकिएपछि बिस्तारै चिसो बढ्न थाल्ने मौसमविद् निराजन सापकोटाले बताए। अहिले बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशको मौसम सामान्य बदली भई थोरै ठाउँमा हल्का पानी पर्ने र अरु ठाउँको मौसम घाम लाग्दै बादल लाग्ने उनले जानकारी दिए।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update