हिमाल दैनिक
नेपाली कांग्रेसका महामन्त्री शाशंक कोइरालाले कोरोनाका कारण संकटमा परेको मुलुकलाई कम्युनिष्ट सरकारले कुनै नयाँ योजना दिन नसकेको आरोप लगाएका छन्। सामाजिक लोकतन्त्रका लागि ऐक्यवद्धता नेपालले आयोजना वीपीको प्रजातान्त्रिक समाजवाद र आगामी महाधिवेशन विषयक कार्यक्रममा महामन्त्री कोइरालाले सरकारले रेल, पानीजहाजका सपना बाँडेर जनताबाट भोट बटुले पनि कोरोना महामारीको संकटका बेलामा जनतालाई जोगाउने भन्दा कुर्सी जोगाउन धन्दामा केन्द्रित भएर देश र जनताप्रतिको दायित्वबाट च्यूत भएको बताए। उनले कांग्रेसले अबलम्बन गरेको प्रजातान्त्रिक समाजवादी सिद्धान्तमा कसरी आम जनतालाई राजनीतिक स्वतन्त्रतासहित आर्थिक सम्पन्नता दिलाउने भन्ने चिन्तन भएको बताए। गरिबलाई धनी बनाएर धनी र गरिबबीचको दुरी कम गर्ने वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादी चिन्तन भएको महामन्त्री कोइरालाको भनाई थियो। महामन्त्री कोइरालाले कांग्रेसको संगठनलाई एकताबद्ध बनाउन र आम नेता कार्यकर्तामा उर्जा थप्नका लागि पनि १४औं महाधिवेशन आवश्यक भएको बताउदै महाधिवेशन तोकिएको समयमा नै गर्न केन्द्रीय समिति तयार रहेको स्पष्ट पारे। उनले महाधिवेशनका लागि नयाँ संरचना अनुसारको समायोजनको काम, क्रियाशील सदस्यताको काम सकेपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्ने बताए। १४ औं महाधिवेशनले कांग्रेसमा नयाँ सन्देश र नयाँ उर्जा थप गर्ने कोइरालाको भनाई थियो। कार्यक्रममा कांग्रेस नेता मीनेन्द्रप्रसाद रिजालले कांग्रेसका तत्तकालिन सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानमा वीपी कोइरालाले परिकल्पना गरेको समाजवादी व्यवस्थालाई समेटिएको दाबी गरे। उनले कम्युनिष्टहरुले समाजवाद उन्मुख समाजवाद उन्मुख भन्ने गरेकाले धेरैमा भ्रम परेको भन्दै वीपी कोइरालाले परिकल्पना गरेको जस्तै समाजवादलाई संविधानमा व्यवस्था गरेको बताए। कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी, किरण यादवले पनि वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादका विषयमा आ आफ्नो धारणा राखेका थिए। नेपाल विद्यार्थी संघको पूर्व महामन्त्री मनोजमणी आचार्यले संचालन गरेको कार्यक्रममा नेविसंघका पूर्वमहामन्त्री प्रतिमा गौतमले सहभागिहरुलाई स्वागत गरेकी थिइन भने नेविसंघ कै पूर्वउपाध्यक्ष प्रमोदहरी गुरागाँईले वीपीको प्रजातान्त्रिक समाजवाद र आगामी महाधिवेशनका विषयमा विषय प्रवेश गराएका थिए।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update