संविधान संशोधनको प्रस्तावबारे पार्टीको निर्णय विपरित गएर चौतर्फी आलोचना खेप्न बाध्य भएकी समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरिलाई पार्टीले अनुशासनको कारबाही गर्दै पार्टी सदस्य र सांसद पद दुबैबाट निश्कासन गरेको छ।
संविधानको धारा ९ अनुसार अनुसूचि ३ मा उल्लेखित नेपालको निशान छाप र त्यसमा उल्लेखित नेपालको नयाँ नक्सा समावेश गर्ने दोस्रो संशोधन विधेयकको विपक्षमा फरक मतसहितको अलग्गै संशोधन प्रस्ताव दर्ता गरेकी सांसद गिरिले पार्टी ब्हिप विपरित निर्णयार्थ पेश भएको दिन संसद बहिष्कार गरेकी थिइन्।
सुगौली सन्धी अनुसार, नेपालको सुदूरपश्चिममा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सालाई संविधानको अनुसूचिमा परिमार्जन गर्न बसेको प्रतिनिधि सभा बैठकमा पार्टीले उपस्थित भएर पक्षमा मतदान गर्न र आफ्नो प्रस्ताव फिर्ता लिन दिएको निर्देशन विपरित गएर सदन बहिष्कार गरेकी गिरिमाथि पार्टीको छानविन समितिले दिएको प्रतिवेदनका आधारमा मंगलबार पार्टीको बैठकले उनलाई पार्टीको साधारण सदस्यसँगै सांसद पदबाट पनि निश्कासन गर्ने निर्णय गरेको हो।
पार्टी नेता बाबुराम भट्टराईका सहयोगी विश्वदिप पाण्डेका अनुसार, पार्टीले गरेको उक्त निर्णयको जानकारी संसद सचिवालयलाई दिने तयारी भइरहेको छ।
संविधान संशोधनको विषयमा विगतदेखि माग गर्दै आएको मधेस केन्द्रीत दलहरुले पनि आम जनताको मनोभावना बुझेर नयाँ नक्सा समेटिएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेका थिए।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय