विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको निर्देशिका र गृह मन्त्रालयको निर्देशनको पालना सर्वसाधारण बाहेक सरकारका उच्च तहका पदाधिकारीले पालना नगरे पनि हुन्छ कि भन्ने सन्देश सरकारकै मन्त्रीहरुले दिएका छन्।
कोरोना भाइरस संक्रमणको त्रासमा रहेका जनतालाई सरकारी निकायले सामाजिक दुरी कायम गराउन विभिन्न माध्यमबाट सन्देश दिइरहेका छन् र भनिरहेका छन् ‘कि कही, कतै जाँदा माक्स लगाउँ सरकारी वा अन्य कार्यालयमा कामका लागि जाँदा पनि कम्तिमा दुई मिटरको दुरी कायम गरौँ। भिडभाड नगरौँ, सार्वजनिक सभा, सम्मेलन नगरौँ।’
तर, मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथिको रुपमा कार्यक्रम उद्घाटनका लागि पुगेको पशुपतिनाथ मन्दिर परिसरमा सरकारले जारी गरेको उक्त निर्देशिकाको पूरै वेवास्ता गरिएको थियो।
नेपाल एसविआई बैंकको लगानीमा पशुपतिनाथ मन्दिरको दक्षिणद्वारमा निर्मित भव्य प्रवेशद्वार उद्घाटन गर्ने पुगेका मन्त्री भट्टराईसँगै त्यहाँ उपस्थित पशुपति विकास कोषका प्रतिनिधिहरुदेखि सरकारी कर्मचारीहरुले सामाजिक दुरी कायम गर्न भन्दा भिडभाड गर्न गराउनमै व्यस्त देखिन्थे। कतिपय उपस्थित प्रतिनिधिहरुको मुखमा माक्स पनि थिएन त कतिले माक्स लगाउने नाममा कानमा झुण्ड्याएका मात्रै थिए।
सुरक्षा निकायका अधिकारीहरु मुकदर्शक बनेर हेरिरहेका देखिन्थे भने मन्त्री त्यही भिडले व्यवस्था गरेको रिवन काट्ने कैँची लिएर हतारो देखाइरहेका थिए।
त्यो देख्दा लाग्दथ्यो, मन्त्री भट्टराईले प्रवेशद्वारको रिवन होइन कतै कोराना भाइरसलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहमा वेसार पानी खाएर हाच्छ्यु गर्दै उडाइदिएर अलिअलि कतै बाँकी भए धारिलो कैँचीले चटक्कै काटिपो दिने हुन् कि?
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने मन्त्री भट्टराईले स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न सबैलाई आग्रह गर्दै सरकार पहिलेजस्तो सबै कुरा ठप्प पारेर लकडाउन गराउने तर्फ नभएको बताए।
उनले जनजिवन समान्य पारेर र आर्थिक क्रियाकलापलाई सहज पार्दै कोरोना नियन्त्रण र रोकथामको प्रयास भइरहेको बताए।
उनले स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका सबैले पालना गरे कोरोना नियन्त्रण हुने विश्वास पनि व्यक्त गर्दै लाखौ मानिस बेरोजगार हुन थालेको भन्दै यातायात क्षेत्र र कलकारखाना छिटै सामान्य रुपमा खुल्ने बताए।
त्यस्तै मन्त्री भट्टराईले पशुपति क्षेत्रको सुन्दरता मार्फत भक्तजनहरुलाई धार्मिक र पवित्र तीर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी पशुपति क्षेत्रको विकासका लागि गुरुयोजना तयार पारिएको जानकारी दिए।
त्यस्तै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले पशुपति क्षेत्रको सौन्दर्यता कायम गर्न गुरुयोजना तयार भइरहेको र यसलाई विश्वमा नै हिन्दुहरुको प्रमुख तीर्थस्थलको केन्द्रको रुपमा विस्तार गरिने बताए।
पाशुपत क्षेत्रमा प्रवेश गर्न पशुपति क्षेत्र विकास कोषले कलात्मकद्वार निर्माण गरेको हो। कोषले एसबीआई बैंकको लगानीमा सुमार्गी भवनछेउमा निर्माण गरेको उक्त द्वार यस्तो कलाकृतिमा पहिलो भएको जनाइएको छ।
सोही अवसरमा बैंकले कोषलाई मन्दिरपरिसर सरसफाईका लागि ब्रुमरको साँचो हस्तान्तरण गरेको थियो।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय