हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीको अहमता र असक्षमताका कारण देशको आन्तरिक राजनीतिक, आर्थिक, सामाजिक अवस्थासँगै नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर असर परेको आरोप संसदमा रहेका प्रमुख दुई विपक्षी दलले लगाएका छन्। संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र तेस्रो दल जनता समाजवादी पार्टी, (जसपा) नेपालका शीर्ष नेताहरुबीच कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको भेटघाटमा दुई दलका नेताहरुले यस्तो निश्कर्ष निकालेका हुन्। दुई दलका नेताहरुबीचको भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक परिस्थिती, कोरोना भाइरसको महामारीबाट आक्रान्त आम जनताको संकटपूर्ण अवस्थामा पनि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न भन्दा स्वास्थ्य सामाग्री खरिदमा गरेको आर्थिक अनियमितता र भ्रष्टाचार जन्य गतिविधिदेखि विदेश सम्बन्धमा पारेको नकरात्मक प्रभावबारे गम्भीर छलफल भएको कांग्रेस उपसभापति विमलेन्द्र निधिले बताए। कोरोना महामारीबाट देश र जनतालाई बचाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्ने सरकारले एकपछि अर्को विवादस्पद राजनीतिक गतिविधि निम्त्याएर अस्थिरता निम्त्याउँदा आन्तरिक राजनीतिक अवस्था गम्भीर बनेको उनीहरुको निश्कर्ष छ। अर्कोतर्फ सरकारको असन्तुलित विदेश नीति र गतिविधिका कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा पनि गम्भीर असर परेको भन्दै यसका लागि प्रधानमन्त्री ओली नै जिम्मेवार रहेको आरोप उनीहरुले लगाएका छन्। कोरोनाले देशको सम्पूर्ण क्षेत्रमा पारेको असरबारे जनप्रतिनिधिहरुले गम्भीर बहस र छलफल गरी सरकारलाई स्पष्ट मार्ग निर्देशन गर्नेदेखि स्वास्थ्य सामाग्री खरिदमा भएका भ्रष्टाचारको विषयमा बहस गरी टुंगोमा पुर्याउने साझा थलो संघीय संसदमा विचाराधिन महत्वपूर्ण विधेयकहरुलाई थाती राखेर प्रधानमन्त्री ओलीले संसद अधिवेशन स्थगित गरेकोमा कांग्रेस र जसपाका नेताहरुले आपत्ति प्रकट गरेका छन्। सामान्य संसदीय अभ्यास र परम्परा अनुसार, सरकारले संसद अधिवेशन अन्त्यको निर्णय लिँदा प्रमुख प्रतिपक्षी दल, सभामुखसँग परामर्श गर्ने गरिएकोमा यसपटक प्रधानमन्त्री ओलीले आफ्नो दलभित्रको आन्तरिक राजनीतिक विवाद छल्न हठानमा सदन स्थगित गरेर संसदीय लोकतान्त्रिक शासन पद्धतीमाथि कुठाराघात गरेको आरोप पनि कांग्रेस र जसपाले लगाएका छन्। ‘कोरोनाको विषयदेखि अत्यन्त महत्वपूर्ण विधेयकहरु संसदमा विचाराधिन अवस्थामा हुँदाहुँदै प्रधानमन्त्री ओलीले सभामुख, विपक्षी कसैलाई पनि जानकारी नगरी हठातमा अधिवेशन स्थगित गरेर संसदीय लोकतन्त्रमाथि कुठराघात गरेका छन्। प्रधानमन्त्रीको उक्त कदमप्रति हामी दुबै पार्टीको आपत्ति रहेको छ,’ उपसभापति निधिले भने। सभापति देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता गरी फर्किएका जसपा नेता राजेन्द्र महतोले भने, ‘सरकारले संसद स्थगित गरेर प्रतिपक्षी र जनताको मुखमा ताला लगाउने काम गरेकोका दुबै दलका नेताहरुबाट असिन्तुष्टि व्यक्त भएको छ।’ उनले थप्दै भने, ‘जनताको आवाज उठाउने साझा थलो संसद हो। जब त्यही थलो नै सरकारले बन्द गरिदिएपछि हामी जनताका प्रतिनिधिले उनीहरुको पिडा कहाँ भन्ने भनेर असन्तुष्टि जनायौं। सरकारले देशको कुनै पनि विषयमा सही र राम्रो काम गर्न सकेन भनि संयुक्त रुपमा भन्ने कुरा भएको छ।’ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक द्वन्द्ध चकिएपछि आफूविरुद्ध आउन सक्ने सम्भावित अविश्वासको प्रस्तावदेखि सरकारप्रति हुन सक्ने आलोचनाबाट बच्न प्रधानमन्त्री ओलीले हठातमा संसद अधिवेशन अन्त्यको घोषणा गरेका थिए। यसैगरी ओलीले आफूलाई भारतले पदबाट हटाउन लागेको भन्दै दिएको अभिव्यक्ति र नेकपाभित्रको आन्तरिक द्वन्द्ध व्यवस्थापनमा चिनिया राजदूतको सक्रियताले नेपालको विदेश नीतिले सन्तुलन गुमाउँदै गएको थियो। देशको आन्तरिक र बाह्य अवस्थामा देखिएको असन्तुलनबारे छलफलका लागि दुई दिन अघि जसपाका नेता उपेन्द्र यादवले कांग्रेस उपसभापति निधिलाई फोन मार्फत दुई दलका नेताहरुबीच भेटवार्ताको समय मिलाउन आग्रह गरेका थिए। सोही आग्रहपछि उपसभापति निधिले मंगलबार कांग्रेस सभापति देउवाको निवासमा पार्टी नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालाई पनि खबर गरेर भेटघाटको व्यवस्था मिलाएको एक नेताले बताए। भेटवार्ताका क्रममा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू डा. बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतो उपस्थित थिए। गत वैशाख ८ गते प्रधानमन्त्री ओलीले राजनीतिक दल सम्बन्धी ऐन र संवैधानिक परिषद सम्बन्धी ऐन संशोधनका दुई विवादस्पद अध्यादेश जारी गरेपछि तत्कालिन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (हालको जसपा) र कांग्रेस शीर्ष नेताहरुबीच वार्ता भएको थियो। त्यसपछिका दिनमा यी दुई दलका नेताहरुबीच औपचारिक भेटवार्ता नभएपनि आज पुनः त्यो भेटवार्ताको क्रमलाई निरन्तरता दिएर आगामी दिनमा पनि समसामयिक राजनीतिक अवस्थाबारे छलफल निरन्तर जारी राख्ने सहमति बनेको छ।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update