हिमाल दैनिक
आशंकाकैबीच फागुन ७ मै १४औं महाधिवेशन गर्ने गरी कांग्रेसको कार्यतालिका परिमार्जित
nepali-congress-baithak
नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको पूर्वनिर्धारित मिति ०७७ फागुन ७ गतेलाई यथावत कायम राख्दै आन्तरिक कार्यतालिकामा केही फेरबदल गरेको छ। पार्टी मुख्यालय सानेपामा सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले अधिवेशनको आन्तरिक कार्यतालिकामा उल्लेखित आन्तरिक संरचना समायोजनको प्रक्रिया साउन १० गतेभित्र गरिसक्ने निर्णयदेखि अधिवेशन फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णयमा कायमै रहेको छ। यसरी समायोजनको प्रक्रिया सकिएलगत्तै असार २५ गतेदेखि साउन मसान्तभित्र नयाँ क्रियाशील सदस्यता वितरणदेखि नविकरण गर्नेदेखि मंसिर मसान्तसम्ममा अन्तिम नामावाली तय गरी पुस ६ गतेबाट माघ ६ भित्र वडादेखि प्रदेश तहको अधिवेशन गरिसक्ने निर्णय गरिएको छ। आजको बैठकमा उपसभापति विजयकुमार गच्छदारदेखि कतिपय संस्थापन पक्षका सदस्यहरुले कोरोना महामारीकाबीचमा तोकिएको मितिभित्र अधिवेशन गर्न सम्भव नभएको भन्दै व्यवहारिक रुपमा निर्णय गरी अर्को वर्षको वैशाखसम्ममा अधिवेशन गर्ने गरी अघि बढ्न सुझाव दिएका थिए। तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले जतिखेर जे जस्तो समस्या आउँछ त्यतिखेरै समस्या समाधान गरी अघि बढ्न सकिने बताउँदै हाललाई पूर्व निर्धारित फागुन ७ गते नै अधिवेशन गर्नेगरी कार्यतालिका बनाएर अघि बढ्न माग गरेका थिए। त्यसपछि निर्णयमा पुग्नु अघि महामन्त्री पूर्णबहादुर खड्काले नेता पौडेलको भनाई दोहोर्याउँदै जतिखेर जे समस्या आइपर्छ त्यति नै खेर समस्या समाधान गरी अघि बढ्ने कुरालाई सबैले दिमागमा राखेर अघि बढ्न र समस्या नबल्झाउन आग्रह गरेका थिए। यसैगरी कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवादको विषयमा आफ्नो पार्टीको कुनै चासो वा संलग्नता नरहने र सत्ता परिवर्तनको झगडामा कुनै सहभागिता नरहने स्पष्ट पारेको छ। पार्टीभित्र उत्पन्न विवाद र दबाबलाई पाखा लगाउँन प्रधानमन्त्री केपी शर्मा ओलीले हठात संघीय संसदको अधिवेशन सूचना मार्फत स्थगित गरेको विषयमा कांग्रेसले आपत्ति जनाउँदै संसदका महत्वपूर्ण कार्यसूचि पाखा लगाउँदै संसदको बैठक आब्हान र स्थगित गर्ने स्थापित परम्परा र अभ्यास अनुसार नगएकोमा आपत्ति प्रकट गरेको छ। ‘सत्तारूढ दल नेकपाको आन्तरिक जीवनमा उत्पन्न द्वन्द्वसँग नेपाली कांग्रेस निरपेक्ष रहेको छ। गत निर्वाचनमा नेपाली जनताले दिएको म्याण्डेड बमोजिम जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टी प्रतिबद्ध छ। सत्ताद्वन्दसंग नेपाली कांग्रेसलाई जोडेर गरिएका प्रचारहरुलाई यो बैठक सम्पूर्ण रुपले खारेज गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ। यसैगरी कांग्रेसले कोरोना महामारीको संक्रमण नियन्त्रण, पहिचान र रोकथामदेखि लकडाउनको कारण प्रभावित जनतालाई बचाउन तथा आर्थिक क्षेत्रमा परेको प्रभाव न्यूनिकरण गर्न सरकार पूर्ण रुपले असफल भएको आरोप लगाएको छ। खेतीको मौसममा कृषकहरु एकातिर कोरोनाको चुनौति झेल्न बाध्य भएको र अर्कोतर्फ समयमा मल, बिउ सहज उपलब्ध नहुँदा थप समस्यामा परेको बताउँदै तत्काल कृषकको समस्या समाधानका लागि राहत प्याकेजको व्यवस्था गर्न पनि माग गरेको छ। यसैगरी सलह किराले बालीनालीमा गरेको क्षेतिबाट किसानलाई जोगाउन सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न पनि माग गरेको छ। यसका अतिरिक्त राजधानी लगायत विभिन्न ठाउँमा आन्दोलनरत आम नागरिक, पत्रकार, विद्यार्थी, कर्मचारी, यातायात व्यवसायी, ट्याक्सी चालक, शिक्षक, स्वास्थ्यकर्मी लगायत विभिन्न संस्था र समुदायले राखेका मागहरु तत्काल सम्बोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ। [pdf-embedder url="http://himaldainik.com/wp-content/uploads/2020/07/CWC-Meeting-2077.03.22-decision.pdf" title="CWC Meeting 2077.03.22 decision"]
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update