सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक द्वन्द्ध समाधान र सरकारको बचाउका लागि चिनिया राजदूतले देखाएको सक्रियताप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गम्भीर आपत्ति प्रकट गरेका छन्।
नेकपाका नेताहरुबीच चलिरहेको आपसी वार्ताले निकास दिन नसकिरहेकै बेला नेपालका लागि चिनिया राजदूत हाउ यान्छीले नेकपाका नेता माधवकुमार नेपाललाई कोटेश्वरस्थित नेपाल निवासमा भेटवार्ता गरेपछि राप्रपा अध्यक्ष थापाले यसलाई रिमोट कन्ट्रोलको संज्ञा दिएका छन्।
https://twitter.com/KTnepal/status/1280024186908377088
उक्त भेटवार्ताबारे स्वयं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत विदेशी हस्तक्षेप अस्वीकार्य रहेको बताइरहेकै बेला अध्यक्ष थापाले सोमबार आफ्नो ट्वीटरमार्फत रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ भनि प्रश्न समेत गरेका छन्।
उनले भनेका छन्, ‘प्रम ओली भन्नुहुन्छः सरकार गिराउन भारतीय राजदूत सक्रिय भए। अर्कोतर्फ चिनिया राजदूत सरकार बचाउन नेताहरुको घर पुग्छिन्। कि यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ? राष्ट्रियता जोगाउन सक्छ? स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन।’
https://twitter.com/KTnepal/status/1280024188711890944
साथै उनले आफ्नो दोस्रो स्टाटस्मा लेखेका छन्, ‘पूर्वाग्रहबाट माथि उठौं। विगतमा सबैबाट गल्ती भएका छन्। गल्तीबाट पाठ सिकौँ, आत्मालोचना गरौँ। बाह्रय हस्तक्षेपवीना राष्ट्रियता र प्रजातन्त्र बलियो हुने नेपाली परिवेश अनुकूल मौलिक प्रजातन्त्र निर्माण गरौँ। कसैले जित्ने, कसैले हार्ने होइन सबै नेपालीले जित्ने व्यवस्था स्थापित गरौँ।’
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय