प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भारतीय राजदूत सक्रिय रहेको आरोप लगाइरहेकै बेला चिनिया राजदूतले खुलम खुल्ला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न विवाद समाधानका लागि राजनीतिक सक्रियता बढाएपछि नेकपाभित्रैैबाट यसको विरोध भएको छ।
पछिल्लो समय नेकपाभित्र प्रधानमन्त्री ओली र असन्तुष्ट पक्षबीचको विवादले पार्टी नै विभाजनको संघारमा पुग्न लागेको आशंका नेताहरुले नै गरिरहेको बेला एकाएक चिनिया राजदूत हाउ यान्छीले नेकपा नेता माधवकुमार नेपालसँग आइतबार भेटवार्ता गरिन्।
यसअघि पनि तत्कालिन नेकपा एमाले र माओवादीबीचको सत्ता संघर्षदेखि निर्वाचनमा तालमेलमात्र होइन केही समयअघि पार्टीभित्र नेताहरुबीच उत्पन्न विवाद समाधानका लागि पनि नेपालका लागि चिनिया राजदूतको सक्रिय भूमिका रहँदै आएको थियो।
यसपटक पनि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुबीच चरम विवाद हुँदा कतै पार्टी नै विभाजन पो हुने हो कि भन्ने आशंका बढ्दै गएको छ। जसको कारण स्वयं प्रधानमन्त्री ओलीले आवश्यकता परे जस्तो सुकै कदम चाल्न तयार रहेको बताउँदै आएका छन्।
https://twitter.com/nksthaprakash/status/1280045394265640960
यसरी उत्पन्न विवाद समाधानमा पार्टीभित्रका नेताहरुले चालेका कदमले अपेक्षाकृत परिणाम आउन नसकेकोबेला चिनिया राजदूतले नेता नेपाललाई आइतबार भेटवार्ता गरेपछि नेकपामा चीनको विशेष प्रभाव रहेको स्पष्ट सन्देश बाहिर आएको हो।
उक्त भेटवार्ताप्रति लक्षित गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पछिल्लो समय देशभित्र उत्पन्न राजनीतिक परिस्थितिकाबारेमा कुनै पनि विदेशी शक्तिको निर्देशन वा कुनै पनि षडयन्त्रको सिद्धान्तलाई अस्विकार गर्ने अडान व्यक्त गरेका छन्।
भारत र चीनका राजदूतको प्रसंग नकोट्याइकन प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘सार्वभौमसत्ता सम्पन्न देश नेपालले आफ्ना कुनै पनि विषयमा निर्णय गर्न सक्षम छ। आफ्नो आन्तरिक मामिलामा कही कतैबाट हुने हस्तक्षेपकारी प्रवृत्तिको हामी विरोध र अस्विकार गर्दछौँ,’ श्रेष्ठले आफ्नो ट्वीटरमार्फत भनेका छन्।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय