पार्टीभित्र अल्पमतमा परेपनि राष्ट्रपतिको पूर्ण साथ र समर्थन पाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एपं प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पद जोगाउन आवश्यक परे पार्टी विभाजन गर्न तयार रहेको सन्देश दिएका छन्।
शनिबार स्थायी कमिटी बैठक स्थगित गरेर आन्तरिक विवाद समाधानमा केन्द्रित हुनुको सट्टा एकाएक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेलगत्तै साँझ आफ्नो मन्त्रिमण्डलका सदस्यहरुलाई पार्टी फुटको संघारमा पुगेको बताउँदै आफ्नो कित्ता छुट्याउन निर्देशन दिएका हुन्।
सोमबारसम्मका लागि स्थायी कमिटी बैठक स्थगित गरेपनि साँझ ओली शीतल निवास पुगेर फर्किएका थिए। त्यसलगत्तै मन्त्री र राज्यमन्त्रीहरुलाई बालुवाटारमा बोलाएर आफूविरुद्ध पार्टीकै कतिपय व्यक्तिहरुले मोर्चाबन्दी गरेको बताउँदै आफू कसैले भन्दैमा पद छाड्न तयार नभएको स्पष्ट सन्देश दिएको स्रोतले बतायो।
उनले अहिले पार्टी एकता गम्भीर मोडमा पुगेको बताउँदै यो आन्तरिक कलह जारी रहेमा पार्टी विभाजन हुन सक्ने बताउँदै त्यस्तो अवस्थामा आफ्नो कित्ता कता हो स्पष्ट पारेर अर्को बैठकमा आउन भन्दै बालुवाटारबाट पठाएका थिए।
करिब आधा घण्टासम्म मन्त्रीहरुलाई सम्बोधन गरेका ओलीले आफूलाई पार्टीभित्रबाटै बारम्बार राजीनामा दिन दबाब दिएपनि आफू देश र पार्टीको भविश्यका लागि उपयुक्त र योग्य पात्र नभएसम्म पद छाड्न तयार नभएको बताएका थिए।
राष्ट्रपतिलाई भेटेलगत्तै मन्त्रीहरुलाई बैठकमा बोलाएपछि कतिपय मन्त्रीहरुले राजनीतिक दल विभाजन सम्बन्धि प्रावधान राखेर नयाँ अध्यादेश ल्याउने आशंका गरेको भएपनि आजको बैठकमा त्यसबारे कुनै चर्चा नभएको एक मन्त्रीले बैठकपछि जानकारी दिए।
पार्टीभित्र अल्पमतमा परेका ओलीले आफ्नो बचाउका लागि राजनीतिक दल विभाजनका लागि आफ्नो सुविधा अनुसारको प्रावधान राखी राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याउने तयारीमा रहेको आशंका नेकपाभित्रैका नेताहरुले गरिरहेका छन्।
यसैबीच अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका नेताहरुले शनिबार दिनभर विभिन्न माध्यमबाट आन्तरिक छलफल गरी आफ्नो रणनीति तय गरिरहेका छन्।
प्रकाशित मिति: बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय