सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न विवाद र अन्यौलताकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा रहेका मन्त्रिपरिषदका सदस्यहरुलाई आन्तरिक परामर्शका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका छन्।
पार्टीभित्र उत्पन्न विवादकाबीच एकाएक संसदको बजेट अधिवेशन अन्त्य गरेर नयाँ राजनीतिक र संवैधानिक विवाद चर्काएका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग झण्डै पौने दुई घण्टा परामर्श गरेर फर्किएलगत्तै मन्त्री तथा राज्यमन्त्रीलाई बालुवाटार बोलाएका हुन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, समसामयिक विषयमा परामर्शका लागि प्रधानमन्त्रीले मन्त्री तथा राज्यमन्त्रीहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका छन्।
असार १० गतेबाट सुरु भएको पार्टी स्थायी कमिटी बैठककै बिचमा प्रधानमन्त्री ओलीले आफूलाई भारतको इसारामा पार्टीभित्रैका कतिपय व्यक्तिले पदबाट हटाउन लागेको आरोप लगाएपछि पार्टीका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल लगायत अधिकांश नेताहरुले पार्टी र सरकार संचालनमा असफल रहेको भन्दै नेतृत्व छाड्न दबाब दिएका थिए।
यसरी आफूमाथि परेको चर्को दबाबलाई झल्न हम्मेहम्मे अवस्थामा पुगेका ओलीले आफूविरुद्ध सदनमा दर्ता हुनसक्ने अविश्वास प्रस्तावलाई छल्न संसदमा रहेका अनगिन्ती महत्वपूर्ण विधेयकहरु थाती राख्दै संसद अधिवेशन अन्त्यको घोषणा राष्ट्रपतिमार्फत सूचना प्रकाशित गरी गराएका थिए।
पार्टीभित्रको आन्तरिक विवादमा पटक पटक देशको संवैधानिक राष्ट्रपतिलाई मुछ्दै र आफ्नो नेतृत्वमाथि परेको संकट टार्ने अस्त्रको रुपमा प्रयोग गर्दै आएका ओलीले शनिबार पार्टी स्थायी कमिटी बैठक स्थगित गरी पुनः राष्ट्रपतिसँग गरेको परामर्शले थप विवादित बनाएको छ।
स्थायी कमिटीका अधिकांश सदस्यहरुले पार्टी र सरकारको नेतृत्व छाड्न दबाब दिएपछि त्यो दबाबलाई झेल्दै प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा रहेका भातृ संस्था र पार्टी कार्यकर्तालाई आफ्नो पक्षमा प्रदर्शन लगाएको समाचारहरु प्रकाशित हुँदै आएका छन्।
प्रकाशित मिति: बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय