सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उनको पक्षमा सडकमा उत्रिएका समर्थकहरुलाई द्वितीय अध्यक्ष पुष्पकमल दाहालले कसैलाई महान राष्ट्रवादी भन्दै देवत्वकरण वा कसैलाई विदेशी दलाल भन्दै दानवीकरण गर्ने कार्य तत्काल रोक्न चेतावनी दिएका छन्।
पार्टीभित्र पछिल्लो समय उत्पन्न विवादका कारण प्रधानमन्त्री ओलीसँग गम्भीर असहमति जनाउँदै आएका पूर्व प्रधानमन्त्री दाहालले गृहजिल्ला चितवन पुगेर आइतबार यस्तो गतिविधि रोक्न निर्देशन दिए।
उनले पार्टीभित्रै कसैलाई महानर राष्ट्रवादीको पगरी गुथाउने र कसैलाई विदेशी दलाल घोषणा गर्ने कार्य गलत भएको बताउँदै भने, ‘पार्टीभित्र कसैलाई महान राष्ट्रवादी भनेर जिन्दाबाद र कसैलाई दलाल भन्दै मुर्दावाद गर्ने कुरा हो?’
पछिल्लो समय पार्टीभित्र असन्तुष्ट पक्षले सरकार र पार्टी नेतृत्वमा रहेको प्रधानमन्त्री ओली दुबै मोर्चामा पूर्णरुपले असफल रहेको आरोप लगाउँदै पद त्याग गर्न दबाब दिँदैआएका छन्।
आफूलाई पदबाट हटाउन आफ्नै दलका सदस्यहरु समेत सक्रिय रहेपछि प्रधानमन्त्री ओली स्वयंले राष्ट्रिय संचारमाध्यमबाट आफ्नो राष्ट्रवादी चरित्र र कदमका कारण भारतीय सत्ता र त्यसको आडमा पार्टीकै कतिपय ‘हुल्लडबाज’हरुले नेतृत्वबाट हटाउन कुचेष्टा गरेको आरोप लगाएका थिए।
ओलीकै आग्रह र निर्देशनमा देशका प्रमुख शहरहरुमा उनको पक्षका कार्यकर्ताहरु सडकमा उत्रिएर ओलीको बचाउ र विरोधी नेताहरुको उछितो काड्नेगरी नारावाजी जारी राखेका छन्।
यसरी पार्टीभित्र देखिएको चरम मतभेदका बाबजूद आफ्नो पार्टी कुनै हालतमा पनि विभाजित हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष दाहालले सडकमा कुनै नेताविशेषको पक्ष वा विपक्षमा उत्रिएर मुर्दावाद, जिन्दावादमा लाग्नेहरु पछुताउनु पर्ने चेतावनी दिए।
उनले भने, ‘पार्टीभित्र एकता कायम हुन्छ, अहिले यता र उता दौडने कामले पछि पछुताउनु पर्ला।’
उनले पार्टी स्थायी समितिको निर्णय बमोजिम सरकारले लिम्पियधुरा, लिपुलेक र कालापानी क्षेत्रसहितको नयाँ नक्सा सार्वजनिक गरेर संविधान संशोधन गरेको बताउँदै यसका लागि पार्टीले गरेको निर्णय पनि लम्पसारवाद नै हो भनि प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका थिए।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय