हिमाल दैनिक
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । २५औँ विश्व जनसङ्ख्या दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले जनसङ्ख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजनन अधिकारको पृष्ठपोषण, बालविवाहमा कमी, सुरक्षित मातृत्वलगायतका क्षेत्रमा प्रगति गरिसकेको समेत बताए । मन्त्री ढकालले जनसङ्ख्या विकासको मूल आधार मात्र नभई देशको अस्तित्व स्थापना गर्ने एक मूल मापक रहेको उल्लेख गर्दै जनसङ्ख्या र विकाससँग जोडिएका महत्वपूर्ण बहुआयामिक क्षेत्रहरुको नीति, निर्माण र कार्यक्रम सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताए । उनले जनसङ्ख्याका क्षेत्रमा राम्रा काम गरे पनि केही सुधार गर्नुपर्ने औंल्याए। देशको आधा हिस्साभन्दा बढी सङ्ख्यामा रहेका महिलाको स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता, रोजगारीजस्ता विषयहरुमा राज्यले विशेषरूपमा ध्यान दिन सकेमा मुलुकको विकासमा यसले ठूलो योगदान पु¥याउन सकिने उनको भनाइ थियो । विश्वभरि नै मनाउन थालिएको दिवसको नारा ‘कोभिड–१९ सङ्क्रमणको पूर्ण अन्त्य गरौँ, महिला र किशोरीहरुको स्वास्थ्य र अधिकार सुरक्षित गरौँ’ रहेको छ । सन् १९८७ मा विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेको स्मरण गर्दै सन् १९८९ मा नेपालसहित १७९ सदस्य राष्ट्रहरुले यो दिवस मनाउन थालेका हुन् । नेपालको जनसङ्ख्या तीन करोड पुगेको छ ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update