भारतीय संचारमाध्यमहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गरेको आरोपमा सरकारले भारतीय न्यूज च्यानल प्रसारणमा रोक लगाएको छ।
पछिल्लो समय नेपाल र भारतबीच बढ्दै सीमा विवादसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी र सरकारको नेतृत्वबारे चर्किएको विवादलाई लिएर भारतीय संचार माध्यममा आएका समाचारहरुप्रति आपत्ति जनाउँदै सरकारी निकायले नेपालभर प्रसारण हुँदै गएका भारतीय न्यूज च्यानल बन्द गरेको हो।
विशेषगरी लिम्पियाधुरा, कालापानी र लिपुलेक अतिक्रमणको विरोध गर्दै सरकारले नयाँ नक्सा सार्वजनिक गर्दै संविधान संशोधन गरेपछि भारतीय पक्ष नेपाल सरकारसँग रुष्ट बनेको थियो।
त्यसपछिका दिनमा सरकार र पार्टी नेतृत्व गर्न असफल भएको भन्दै नेकपाका अधिकांश नेताहरुले दुबै पद त्याग्न दबाब दिएपछि उत्पन्न विवाद समाधानमा चिनिया राजदूतको दौडधूपको विषयलाई लिएर भारतीय न्यूज च्यानलले समाचार प्रचार, प्रसार गरेपछि त्यसले प्रधानमन्त्री र नेपालको विषयमा अनर्गल प्रचार गरेको भन्दै भारतीय न्यूज च्यानल प्रसारणमा रोक लगाइएको हो।
उक्त निर्णयबारे अहिलेसम्म सरकारी निकायको कुनै पनि माध्यमबाट सूचना नआएपनि नेपालमा विदेशी च्यानल प्रसारण गर्दै आएका टिभी सेवा कम्पनीले हिन्दी न्यूज च्यानलहरु आजतक, एविपी, जी न्यूज, अंग्रेजी च्यानल इण्डिया टुडे, न्यूज १८, इण्डिया टिभी प्रसारणमा रोक लगाइएको छ। तर, टाइम्स नाओ र जि विजनेश च्यानलको भने प्रसारण खुला नै राखिएको छ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय