सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीच सहमति कायम हुन नसकेपछि स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ।
असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र क्षमतामाथि गम्भीर प्रश्न उठाउँदै दुबै पद त्याग्न दबाब दिएपछि बिचमा पटक पटक स्थगित हुँदै शुक्रबार बिहान ११ बजेका तय गरिएको बैठक अपरान्ह ३ बजेका लागि सारिएको थियो।
तर, अध्यक्ष एवं प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ३ बजेका लागि तय भएको बैठक पुनः स्थगित गर्दै साउन ४ गते अपरान्ह ३ बजे बस्ने जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत दिएका छन्।
https://twitter.com/ThapajiSurya/status/1284021152608686083
पार्टी स्थायी कमिटीको बैठक पटक पटक मिति गुजार्दै गएपछि पार्टीका नेताहरुले नेतृत्वको उक्त निर्णयप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
शुक्रबार बिहानका लागि डाकिएको बैठक अपरान्ह ३ बजेका लागि सरेको जानकारी पाएलगत्तै नेकपाका नेता सुरेन्द्र पाण्डेले ट्वीटरमार्फत असन्तुष्टि व्यक्त गर्दै अब कति सर्ने हो भन्ने प्रश्न गरेका छन्।
उनले आफ्नो ट्वीटरमा पार्टी नेतृत्वले बैठकको मिति गुजारेकोमा लाजै मर्दो स्थिति भएको भनि प्रतिक्रिया दिएका छन्।
https://twitter.com/surendraCPN/status/1284003613300322304
पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि प्रधानमन्त्री ओली र द्वितीय अध्यक्ष पुष्पकमल दाहालबीच यसबीचमा सात चरणका वार्ता हुँदा पनि कुनै निकास ननिस्किएपछि बिहिबार दाहालसँगै अर्का नेता माधवकुमार नेपाल पनि ओलीसँगको वार्तामा गएका थिए।
बालुवाटारमा भएको वार्तामा दाहाल र नेपालले प्रधानमन्त्री ओलीलाई राजनीतिक र कुटनीतिक रुपमा पनि एकपछि अर्को गल्ती गरेको आरोप लगाउँदै तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिएर निकास दिन सर्त राखेका थिए।
जवाफमा ओलीले आफू कुनै पनि पद त्याग्न तयार नरहेको भन्दै जस्तोसुकै चुनौतिको सामाना गर्न तयार रहेको बताएपछि नेतात्रयबीचको सहमतिको प्रयास विफल भएको थियो।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय