प्रधानमन्त्री केपी शर्मा ओली र द्वितीय अध्यक्ष पुष्पकमल दाहालबीच चरणबद्ध वार्ताबाट निकास ननिस्किएपछि अर्का नेता माधवकुमार नेपालसहितको वार्ता पनि विना निश्कर्ष टुंगिएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्रको आन्तरिक विवाद समाधानका लागि अध्यक्षद्वय ओली, दाहाल र नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहिबार भएको वार्तामा दुबै पक्षले आफ्नो अडान नछाडेपछि छलफल निश्कर्षविहिन टुंगिएको हो।
असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरुले सरकार र पार्टीको नेतृत्व लिन असफल भएको आरोप लगाउँदै अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई दुबै पद छाड्न दबाब दिएका थिए।
पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री ओलीले आफू कुनै हालतमा दुबै पद छोड्न तयार नरहेको भन्दै अडान लिएपछि नेकपाभित्रको विवाद चुलिँदै गएको थियो।
त्यहीबीचमा प्रधानमन्त्री ओलीले आफूलाई भारतीय इशारामा पार्टीकै केही व्यक्तिले पदबाट हटाउन षडयन्त्र गरिरहेको आरोप लगाए। त्यसपछि सदनभित्रबाट हटाउने बाटो बन्द गर्न एकाएक संघीय संसदको अधिवेशन अन्त्य गरेपछि पार्टीको विवाद थप जटिल बन्यो।
सत्तारुढ दलभित्रको आन्तरिक कहलमा नेतृत्व अल्झिएपछि कोरोना महामारीको मारमा देश र जनताले आर्थिक, सामाजिक समस्या झेलिरहे पनि सरकारले जनताको पीडा कम गर्न कुनै प्रभावकारी कदम चाल्न सकिरहेको छैन।
यसका बाबजूद अध्यक्ष ओलीले पटक पटक पार्टी स्थायी कमिटी बैठक स्थगित गर्दै सहमतिका लागि अर्का अध्यक्ष दाहालसँग वार्ता जारी राखे। तर सहमतिको विन्दु पहिल्याउन सकिरहेका छैनन्।
यसरी सारिएको स्थायी कमिटी बैठकको मिति आउनु अघिल्लो दिन बिहिबार अपरान्ह ओलीसँग वार्ताका लागि दाहाल र नेपाल बालुवाटारमा पुगेका थिए।
मंगलबार र बुधबार ओलीसँग भएको छलफलमा विवाद समाधानमा ठोस सहमति नभएपछि बिहीबार दाहालले नेपाललाई पनि छलफलका लागि लगेका थिए ।
दाहाल र नेपाल बालुवाटार जानुअघि दाहाल निवास खुमलटारमा यस समूहका सचिवालयका ६ नेताको बैठक भएको थियो ।
बालुवाटार स्रोतका अनुसार आजको वार्ताका क्रममा पनि दाहाल र नेपालले पुरानै सर्त दोहोर्याउँदै ओलीलाई प्रधानमन्त्री पद छाड्न दबाब दिए।
तर, कसैको दबाबमा कुनै पद त्याग्न नसक्ने सार्वजनिक अडान दोहोर्याउँदै आएका ओलीले आज पनि आफ्नो अडान कायमै राखे। यसपछि केही सहमति हुने आश राखेका नेताहरुबीचको वार्ता निरर्थक बन्यो।
पार्टीभित्रै स्थायी र सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्षबाट ओलीको राजीनामा मागेसँगै नेकपा विवाद जटिल मोडमा पुगेको देखिन्छ।
पार्टी एकीकरणका बेला २०७५ को जेठ २ मा भएको पाँचबुँदे सहमति र २०७६ मंसिर ४ मा भएको अध्यक्षहरूको जिम्मेवारी बाँडफाँडको निर्णयको जगमा नयाँ सहमति खोज्न सकिने तर्क गरे पनि दुबै पक्षले आ(आफ्नो अडान नछोड्दा सहमतिका लागि फेरि सहमति गर्नेगरी वार्ता सकिएको छ।
लगातार स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक शुक्रबार बस्दै छ । स्थायी कमिटी बैठकअघि पार्टीमा उत्पन्न विवाद समाधान गर्न दुई अध्यक्षबीच पटक–पटक वार्ता भएको थियो। विवाद मिलाउन आज त्रिपक्षीय वार्ता भएको हो।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय