हिमाल दैनिक
श्रीरामको जन्मभूमी र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति तथ्य र आधारहिन काल्पनिक कुरा भएको बताउँदै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले गम्भीर आपत्ति जनाएका छन्। सोमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतको अयोध्या वास्तवमा नेपालको वीरगञ्जबाट पश्चिमस्थित ठोरीमा पर्ने भनि दिएको अभिव्यक्तिले धार्मिक, सांस्कृति परम्पराविरुद्ध मात्र होइन दुई देशबीचको सम्बन्धलाई थप जटिल बनाउने भन्दै उपसभापति निधिले सरकार र राष्ट्रपतिको समेत ध्यानाकर्षण गराएका छन्। बुधबार हिमाल दैनिकसँग कुरा गर्दै जनकपुरका स्थायी बासिन्दा समेत रहेका नेता निधिले नेपालभित्र र बाहिर रहेका हिन्दु समाजदेखि वा विश्वभरका हिन्दु र गैरहिन्दुले समेत त्रेता युगमा जनकपुरका तत्कालीन राजा जनककी छोरी सीताको बिहे अयोध्याका राजा दशरथका छोरा रामसँग भएको भन्ने बुझ्दै आएको बताए। ‘यो आजको कुरा होइन, त्रेता युगको कुरा हो। राजा जनक तत्कालिन मिथिलाको राजधानी जनकपुरका थिए जुन नेपालमा पर्छ र प्राचिन अयोध्या भारतमा पर्छ। राजा दशरथका छोरा राम जसको बिहे जनककी छोरी सीतासँग भयो। यो कुरालाई संसारले सदियौँदेखि मान्दै आइरहेको छ,’ उनले थप्दै भने। त्यहि मान्यताका आधारमा नै सबैले आफ्नो धार्मिक, सांस्कृति परम्परा र प्रचलनहरुको निर्वाह र अवलम्बन गर्दै आइरहेको बताउँदै उनले भने, ‘यही विश्वासका आधारमा अहिले पनि जनकपुरमा प्रत्यक वर्ष विवाह पञ्चमीकै दिनमा अयोध्याबाट जन्ती आउँछन्, हामीहरु त्यहाँ स्वागत गर्दछौँ, जहाँ नेपाल र भारत सरकारका प्रतिनिधिहरु पनि उपस्थित हुन्छन्। जुन नयाँ वा गोप्य कुरा पनि होइन।’ प्रधानमन्त्री ओलीलाई यत्तिको जानकारी हुँदा हुँदै पनि अचानक विना प्रंसंग अयोध्या नेपालको हो, अयोध्या छुट्टै छ भनि भन्नु भनेको हास्यास्पद, आधारहिन मात्र होइन आपत्तिजनक पनि भएको उनले बताए। साथै उपसभापति निधिले पछिल्लो समय नेपाल र भारतबीच कालापानी लगायतको क्षेत्रको विषयले विवाद बढेको बेला प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिले दुई देशबीचको सम्बन्धलाई थप जटिल बनाएको आरोप लगाए। भर्खरै नेपालभित्र प्रतिनिधि सभामा रहेका सबै दलले कालापानीको सम्बन्धलाई निर्णय गरी संविधानमा संशोधन गरेपछि उक्त विवादस्पद भूभाग लगायतका अन्य भूभाग कुटनीतिक वार्ताको माध्यमबाट फिर्ता ल्याउनु पर्दछ भनेको स्मरण गर्दै निधिले ओलीको यो अभिव्यक्तिले दुई देशबीचको सम्बन्धलाई थप जटिल बनाएको आरोप लगाए। उनले भने, ‘भारतसँगको सम्बन्ध एकपछि अर्को कदमबाट विगार्ने काम प्रधानमन्त्री ओलीले गर्नु बाहेक अरु केही गरिरहेकै छैनन्।’ साथै उनले प्रधानमन्त्री ओलीले हरेक पटक नयाँ नयाँ विवाद चर्काइरहेको मात्र होइन, यसले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग नेपालमा फर्काउन भारतसँग कुटनीतिक पहलका लागि वातावरण बनाउने प्रयास गर्नुको सट्टा वार्ताको वातावरण विथोल्ने काम सरकारकै प्रधानमन्त्रीबाट हुनु भनेको अत्यन्त आपत्तिजनक र गैरजिम्मेवार कदम भएको बताए। ‘यो धार्मिक र सांस्कृतिक परम्पराको प्रतिकूल त छँदै छ, राजनीति र देश हितमा पनि छैन। यो घोर आपत्तिजनक कुरा हो। यसप्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने। यसैगरी उपसभापति निधिले संविधानको संरक्षक र पालन गराउने जिम्मेवारी र कर्तव्य दिएको संवैधानिक राष्ट्रपतिले त्यसको पालना गर्ने, गराउने क्रममा सरकारबाट नियमित रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाबारे जानकारी लिनेदेखि आवश्यकता अनुसार सरकार र प्रधानमन्त्रीलाई सुझाव दिने प्रचलन भएको बताए। तर, यति गम्भीर विषयमा विषयमा राष्ट्रपतिको भूमिका संविधान र देशको राष्ट्रिय हित भन्दा पनि दलीय कुरामा बढी चासो दिनमा केन्द्रित भइरहेको आरोप उनले लगाए। ‘केही दिनअघि मात्रै नेकपाका नेताहरुलाई बोलाएर सत्तारुढ दलको आन्तरिक कुरामा उहाँ रुचि लिनु हुन्छ तर, प्रधानमन्त्रीको यो बोलीले भारत र नेपालको सम्बन्ध थप बिग्रीरहेको छ। यस्तो कुराहरुको बारेमा राष्ट्रपतिले केही बोल्नु भएको छैन,’ उनले थप्दै भने, ‘यो विषयलाई नोटिसमा लिनु पर्छ भन्ने कुरा पनि ध्यानाकर्षण गराउँदछु।’ सरकार वा प्रधानमन्त्रीले गरेका काम कारबाहीमा चित्त नबुझेमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर सोधपुछ गर्नेदेखि जानकारी माग्ने प्रचलन रहँदै आएको छ। साथै उनले यसलाई घोर आपत्तिजनक विषय भएको बताउँदै यसतर्फ सबै पक्षको ध्यानाकर्षण गराए। यसका अतिरिक्त प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले जारी गरेको स्पष्टिकरण सम्बन्धि विज्ञप्तिप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘परराष्ट्रको वक्तव्य पनि भ्रमपूर्ण छ। यसले झन प्रधानमन्त्रीले बोलेकै कुरालाई थप पुष्टि गर्ने कार्य गरी झन जटिलता बढाएको छ।’ मंगलबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कुनै राजनीतिक वा समुदाय विशेष केन्द्रित नभएको मात्र होइन, विभिन्न किम्बदन्तीका विषयमा थप अध्ययन र अनुसन्धान हुनु पर्ने धारणा व्यक्त गरेका थियो।
प्रकाशित मिति: आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update