नेपाली कांग्रेस ‘कोभिड—१९ अनुगमन समितिले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेट गरी कोरोना कहरका कारण देशमा परेको चौतर्फी असरबारे छलफल गरेको छ।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा रहेको समितिका सदस्यहरुले मंगलबार गर्भनरलाई भेट गरी कोभिड–१९ बाट प्रभावित विभिन्न क्षेत्र, पेशागत समूह, उद्योगी÷व्यवसायीहरुसँग समितिले अनुगमनका क्रममा विभिन्न चरणमा गरेको छलफलबाट प्राप्त सुझावहरुको आधारमा केन्द्रीय बैंकलाई सुझाव दिएको थियो।
कांग्रेसले जारी गरेको विज्ञप्ति अनुसार, भेटका अवसरमा सरकारले बजेटमार्फत समस्यामा परेका क्षेत्रहरुलाई सम्बोधन गर्न नसकेको हुँदा आगामी मौद्रिक नीति जारी गर्दा प्रभावित क्षेत्रहरुलाई सम्बोधन गर्न पनि सुझाव दिएको थियो।
राष्ट्र बैंकले तय गर्ने व्याजदर र सुविधाहरु बैंकहरु मार्फत लगानीकर्तासम्म पु¥याउन पर्ने जसले गर्दा रोजगारीलाई जोगाउँदै अर्थतन्त्रलाई चलायमान गराउन सकिने संयोजक महतले बताएका थिए।
विशेषतः यस असाधारण अवस्थामा यातायात, पर्यटन, शिक्षा, उद्योग लगायत रोजगारी सिर्जना गर्ने क्षेत्रहरु अनुकूल मौद्रिक नीति ल्याएमा कोभिड—१९ ले पारेको प्रभावलाई क्रमशः न्यूनिकरण गर्दै जान सकिने विचार कांग्रेसको अनुगमन समितिले राखेको थियो।
उक्त प्रतिनिधिमण्डलमा पार्टीका केन्द्रीय सदस्य एवं समितिका सदस्यहरु एन.पी. साउँद, चन्द्र भण्डारी, समितिका सदस्यहरु राजीवविक्रम शाह, पोषराज पाण्डे, प्रभु बुढाथोकी र नैनसिंह महर पनि सहभागी थिए।
प्रकाशित मिति: शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय