प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक किचलोमा आफ्नो कुर्सी जोगाउन योजनाबद्ध ढंगले उठाएको राजनीतिक अस्त्र र स्टन्ट भएको बताउँदै नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कुर्सीका निम्ति जे पनि बोल्ने र गर्ने व्यक्तिबाट देश र लोकतन्त्र सुरक्षित नभएको प्रतिक्रिया दिएका छन्।
प्रधानमन्त्री ओलीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा रामायणमा उल्लेखित पात्र राम भारतका नभई नेपालकै वीरगञ्जभन्दा पश्चिमको ठोरीका राजकुमार रहेको अभिव्यक्तिप्रति नेता थापाले आपत्ति प्रकट गरेका हुन्।
https://www.facebook.com/thapagk/posts/3241895209187702
मंगलबार आफ्नो सामाजिक संजालबाट नेता थापाले आफूलाई कथित राष्ट्रवादी बनाएर पार्टीभित्रको विद्रोह थाम्ने कडिका रुपमा योजनाबद्ध ढंगले ल्याएको अस्त्र भन्दै यसलाई सामान्य रुपमा नलिन सत्तारुढ नेकपा नेतृत्वपंक्तिलाई आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले ‘जे पनि बोल्ने’ प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ। मेरो विचारमा(यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो।’
प्रधानमन्त्री ओलीले के अभिव्यक्ति दिँदा देशभित्र र बाहिर कस्तो प्रतिक्रिया आउँछ भन्ने राम्रो थाहा भएको बताउँदै राष्ट्रवादी कहलाउने आशामा असंगत अभिव्यक्ति दिएको आरोप पनि थापाले लगाएका छन्।
‘प्रमलाई राम्रोसंग थाहा छ, यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ। त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफुलाई कथित राष्ट्रवादी बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रुपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो,’ थापाले भनेका छन्।
सत्ताको स्वार्थका लागि जस्तोसुकै प्रपञ्च रच्न ओली तयार रहेको दाबी गर्दै उनले प्रधानमन्त्री ओली आफ्नो पदका लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्न तयार रहेको आरोप पनि लगाएका छन्।
‘प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ। यसलाई हल्का रुपमा नलिऔं। यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔं,’ थापाले भनेका छन्।
साथै प्रधानमन्त्री ओलीले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोलेको बताउँदै उनको उक्त अभिव्यक्ति प्रतित्युत्पादक भएपछि परराष्ट्रले बचाउका लागि वक्तव्य निकालेको उनको दाबी छ।
साथै उनले पद जोगाउन जे पनि बोल्ने खड्गप्रसाद ओलीको बचाउ गर्न छाडि उनलाई पदमुक्त गर्न पनि नेकपा नेता, कार्यकर्तासँग आग्रह गरेका छन्।
‘प्रधानमन्त्रीज्यूले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो। प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो। कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र१ नेकपाका साथीहरू१राजनीतिक होइन भनेर नपन्छिनोस, अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्,’ थापाले भनेका छन्।
प्रकाशित मिति: शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय