हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताकोे नेतृत्व लिएयताको समयमा देशकोे राजनीतिसँगै विदेश सम्बन्धमा एकपछि अर्को गर्दै पारेका भ्वाङहरु टाल्न परराष्ट्र मन्त्रालयलाई सास्ती भइरहेको छ। कहिले कोरियन धर्म प्रचारक संस्थाको सहयोगीका रुपमा जनप्रतिनिधिहरुलाई होली वाइन खान उर्दी जारी गरेर त कहिले आफ्नो नेतृत्वको राष्ट्रवादी सरकारलाई भारत र भारतीय राजदूतले हटाउने षडयन्त्र गरिरहेको सार्वजनिक अभिव्यक्ति दिएर देशभित्र र बाहिर विवादमा पर्दै आएका छन्। पछिल्लो समय आदिकवी भानुक्त आचार्यको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामीले सीता भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन, अयोध्याका राजकुमार। अयोध्या भनेको वीरगञ्ज भन्दा अलिकति पश्चिमपट्टीको ठाउँ (ठोरीमा) हो। अहिले खडा गरिएको अयोध्या होइन।’ प्रधानमन्त्री ओलीले दिएको विवादस्पद अभिव्यक्तिले देशभित्र स्वयं उनैको दलका नेतादेखि विपक्षी दलका नेता, कार्यकर्ता र सर्वसाधारणबाट मात्र होइन भारतीय राजनीतिक दलका नेता तथा धर्मगुरुहरुबाट समेत गम्भीर आपत्ति प्रकट भएको छ। यसरी उत्पन्न विवादलाई साम्य पार्न प्रधानमन्त्रीको विश्वासपात्र एवं परराष्ट्र मन्त्री प्रदिप ज्ञावालीले मन्त्रालयको नाममा विज्ञप्ति जारी गर्दै ओलीको भनाईमा रफु गरेर भ्वाङ टाल्ने प्रयास गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले तीन बुँदे स्पष्टिकरण दिएको छ। उक्त विज्ञप्तिमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति कुनै राजनीतिक विषय वा कसैको भावनामा चोट पुर्याउने उद्देश्यले नभनिएको उल्लेख छ। भगवान राम र उनको जन्मभूमिको विषयमा थुप्रै किम्बदन्ती र भनाइहरु रहेको बताउँदै प्रधानमन्त्री ओलीले राम र रामायणसँग सम्बन्धित संस्कृति र भूगोलको विषयमा थप गहन अध्ययन, अनुसन्धान मार्फत सत्य तथ्य बाहिर ल्याउन र यसको अमूल्य सभ्यताको तथ्य पहिल्याउन जोड दिएको मन्त्रालयले दाबी गरेको छ। प्रधानमन्त्री ओलीले अहिले खडा गरिएको अयोध्या भनेर दिएको अभिव्यक्तिलाई सच्याउँदै मन्त्रालयले प्रधानमन्त्रीका भनाइहरु अयोध्या र यसले बोकेको सांस्कृतिक मान्यतालाई अवमूल्यन गर्ने उद्देश्यले नभएको स्पष्ट पारेको छ। साथै परराष्ट्र मन्त्रालयले ओलीको भनाई सच्याउने क्रममा विवाह पञ्चमीमा अयोध्याबाट जनकपुरधाममा हरेक वर्ष जन्ती आउने प्रचलन रहेको स्मरण गर्दै नेपाल र भारतका प्रधानमन्त्रीले मे २०१८ मा रामायण सर्किट परियोजना घोषणा गर्दै जनकपुरदेखि अयोध्यासम्म सार्वजनिक बस सेवा संचालन गरेको बताएको छ।
प्रकाशित मिति: शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update