हिमाल दैनिक
पदीय मर्यादा र जिम्मेवारीलाई चटक्कै विर्सेर दिनहुँ जसो सार्वजनिक संचारमाध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विषयान्तर गर्न विवादस्पद अभिव्यक्ति दिँदै आएको उनैको दलका नेताहरुले प्रतिक्रिया दिएका छन्। आफूलाई राष्ट्रवादी भएको कारण भारत र भारतीय इशारामा आफ्नै दलका नेताहरुले पदबाट हटाउन लागेको भन्दै आफ्नै दलका नेताहरुलाई भारतीय दलालको संज्ञा दिएपछिको आन्तरिक रडाको सेलाउन नपाउँदै सोमबार बालुवाटारमा आयोजित एक कार्यक्रममा आयोध्या भारतमा नभई नेपालकै वीरगञ्ज नजिकैको गाउँमा रहेको अभिव्यक्ति दिएपछि विपक्षी दलका नेताहरुले मात्र होइन, स्वयं उनैको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले समेत आपत्ति जनाएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले दिएको अभिव्यक्तिप्रति आफ्नो ट्वीटरमार्फत प्रतिक्रिया दिँदै पार्टी नेता भीमबहादुर रावलले भारतसँग कुटनीतिक वार्ता गरी सीमा क्षेत्रको डुबान र नेपाली भूमिबाट भारतीय सेना हटाउने कुरा छाडेर विषयान्तर गर्न अयोध्याबारे बहस ल्याएको आरोप लगाएका छन्। https://twitter.com/BhimRawal179/status/1282946657022210049 उनले भनेका छन्, ‘यो बेला सीमा क्षेत्र मिचिएको, तराईका वस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौंज हट्नुपर्ने विषय उठाई भारतसंग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो? विषयान्तर किन? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीं छलफल गर्नुनपर्ने कस्तो तन्त्र हो? नेपालको संविधान सभाले नयाँ संविधान जारी भएपछिको परिस्थितिमा भारतविरुद्ध चर्को भाषणवाजी गरेर राष्ट्रवादी पगरी गुथ्न सफल ओलीले गत निर्वाचनमा सोही नाराको भरमा सफलता हात पारेपनि सत्ताको नेतृत्व लिएपछि देश र जनताको स्थिति भयावह हुँदै गएको छ।
प्रकाशित मिति: शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update